गृहपृष्ठ बलात्कार र हत्यामा मन्त्री र प्रधानमन्त्रीका चर्का भाषण, उपलब्धि शून्य

बलात्कार र हत्यामा मन्त्री र प्रधानमन्त्रीका चर्का भाषण, उपलब्धि शून्य

दुई वर्षअघि बलात्कार र हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको विषयमा प्रदेशदेखि केन्द्र सरकारसम्मले निकै गम्भीरता देखाएको ‘प्रहसन’ गरे । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर  थापादेखि सुदूरपश्चिमका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीसम्मले अपराधीलाई पक्राउ र कारबाही गर्ने सार्वजनिक अभिव्यक्ति दिए ।

सुदूरपश्चिमका कानुनमन्त्री प्रकाशबहादुर शाहले त ‘निर्मलाको बलात्कारीलाई अन्तरिक्षमा भए पनि पक्राउ गर्छौँ’ भनेर उद्घोष गरे । तर, दुई वर्ष बित्यो, केन्द्र र प्रदेश सरकारले कुनै नतिजा दिन सकेका छैनन् न त अनुसन्धानमा गम्भीरता नै देखिएको छ ।

निर्मलाका हत्यारामाथि कारबाही नहुँदा आपराधिक मनोवृत्तिमा प्रश्रय मिलिरहेको पाइएको छ । माघ अन्तिम साता बैतडीको दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्टमाथि पनि निर्मलाकै प्रकृतिको घटना भयो । क्रुर ढंगले बलात्कारपछि उनको हत्या भयो ।

अनुसन्धानमा यसपटक केन्द्र र प्रदेश सरकारको तदारुकता फितलो देखिएको छ । तर, सरकारका मन्त्री र प्रधानमन्त्रीको भाषण भने उस्तै चर्का छन् ।

बुटबलमा ‘प्रतिनिधि सभा भंग गर्नु मेरो नैसर्गिक अधिकार हो’ भनेर प्रधानमन्त्री केपी शर्मा ओली गर्जिंदै गर्दा बलात्कारको घटनमा पनि प्रवेश गरे । जनमास देखेर उत्साहित बनेका ओलीले ‘निर्मला र भागरथीका हत्यारालाई पानीमुनि भए पनि नछाड्ने’ उद्घोष गरे । परर ताली बजाइयो । तर, निर्मलाका हत्यारा पानीमाथि नै छन् भने उनलाई कसले सम्झाइदिने ? पानीमाथिको अपराधी दुई वर्षमा पनि किन फेला परेको छैन ।

प्रधानमन्त्री पानीमा हत्यारा खोज्दै छन्, गृहमन्त्री कारबाही नगरी नछाड्ने भन्दै छन्, सुदूरपश्चिमका मन्त्री अन्तरिक्षमा हत्यारा खोजिरहेका छन् । तर, सबै भाषणमा मात्र । बरु चर्का भाषणमा खोजिने बलात्कारी र हत्यारा उनीहरूकै संरक्षणमा रहेकाले पक्राउ पर्न नसकेको आशंका हुन थालेको छ ।

अहिले देशभर बलात्कार र हत्याको विरोधमा दिनहुँ प्रदर्शन भइरहेका छन् । नागरिक समाज र महिला तथा मानवअधिकारवादीहरूले बलात्कारी र हत्यारा पक्राउ गरी कारबाही गर्न ध्यानाकर्षण गराइरहेका छन् । बालिकादेखि वृद्धा सम्ममाथि बलात्कारका सिलसिला कम नभएको भन्दै उनीहरूले सरकारलाई घच्घच्याइरहेका छन् । कहिले आफैँ जिउँदो लाश बनेर त कहिले बलात्कृत बनेर त्यसको पीडाबोध गराउन प्रयत्न गरिहरेका छन् ।

तर, तिनका आवाजले मन्त्री, प्रधानमन्त्रीलाई छोएको छैन । उल्टै ‘साइबर सेना’को बलमा उनीहरूको आवाजलाई ‘डलर खेती’ करार गराउन प्रधानमन्त्रीको टिम उद्यत छ ।

जनमास देखेर उत्साहित हुने चर्का भाषणले अपराधी पक्राउ पर्दैनन् । अपराधी प्रकाउ पर्न सरकारमा गम्भीरता हुनुपर्छ । पीडाबोध हुनुपर्छ । सूक्ष्म अनुसन्धानका लागि अधिकारसम्पन्न प्रभावकारी टिम खटाइनुपर्छ, जसले दबाबरहित ढंगले अपराधी पत्ता लगाउन र कारबाही अघि बढाउन सकोस् । प्रधानमन्त्रीज्यू ! चर्का भाषणले बलात्कारी निरुत्साहित हुँदैनन् । निर्मला र भागिरथीका हत्यारामाथिको कारबाही देशभरका महिलावर्गका लागि न्यायको दियोका रुपमा बल्नुपर्छ ।

प्रकाशित समय ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु