गृहपृष्ठ प्रणय दिवसमा पनि विदेशबाट गुलाफका फूल

प्रणय दिवसमा पनि विदेशबाट गुलाफका फूल

पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ ।

प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन । व्यावसायिक रूपमा फूलखेती गर्ने किसान छन् तर बजारको माग पूरा गर्न सकेका छैनन् ।

प्रेम दिवसमा दिइने गुलाफ फूलको उत्पादन चितवनमा पनि निरन्तर घट्दै गइरहेको छ । समय र तापक्रमको सन्तुलन मिलाउन नसक्दा कुनै बेला राम्रो उत्पादन गर्ने क्षमता बनेको चितवनमा गुलाफ उत्पादन अहिले निरन्तर घटेको हो ।

फेब्रुअरी १४ का दिन प्रेमी जोडीहरुले एक–अर्कालाई गुलाफ फूल, कार्ड र उपहारस्वरूप विभिन्न सामान आदनप्रदान गर्ने चलन छ । सोही अवसरमा यस दिन चितवनसहित देशभर करोडौँको गुलाफ फूलको कारोबारसमेत हुने गरेको पुष्प व्यवसायीहरुले बताएका छन् ।

पुष्प व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष प्रकाश पन्तले प्रणय दिवसमा चितवनमा गुलाफ फूलको माग निरन्तर बढेको भए पनि उत्पादन भने घटेको बताए । ‘अन्य समयमा ५० रुपैयाँमा बिक्री हुने गुलाफ यस दिन सय रुपैयाँमा बिक्री हुने गरेको छ । यसको बिरुवा महँगो र उत्पादनमा धेरै नै मेहनत गर्नुपर्ने भएकाले पनि चितवनमा उत्पादन घटेको छ । एउटा बिरुवालाई १५० रुपैयाँसम्म पर्छ,’ उनले भने ।

गुलाफ फूल उत्पादन गर्न तापक्रम ३० देखि ३२ डिग्री सेन्टिग्रेडको आवश्यकता पर्छ तर चितवनमा धेरै गर्मी हुने भएकाले यसको उत्पादन चितवनभन्दा पहाडी क्षेत्रमा नै बढी हुने गरेको छ । खुला ठाउँमा खेती गरेको गुलाफ त्यति आकर्षक नदेखिने भएकाले हरितगृहमा खेती गर्दा चितवनमा तापक्रम र प्रकाशको सन्तुलन मिल्न नसकेको व्यवसायी पन्तले बताए । चितवनमा व्यावसायिक रूपमा गुलाफखेती गर्ने किसान भने छैनन् ।

अहिले चितवनमा गुलाफ फूलको बढ्दो माग भए पनि सदाबहार फूलको खेतीमा किसान आकर्षित भएको प्राविधिक बताउँछन् । कृषि ज्ञान केन्द्र चितवनका बागवानी प्राविधिक सहायक पुनम पौडेलले चितवनमा पुष्प खेती गर्नेको संख्या बढ्दै गए पनि गुलाफखेती भने घट्दै गएको बताए । ‘विशेष अवसरमा मात्र गुलाफको बिक्री हुने भएकाले यसको बजार सानो छ । जोगाएर राख्न र उत्पादन गर्न पनि कठिन भएकाले किसानको आकर्षण गुलाफमा छैन,’ उनले भने । धेरै किसानको आकर्षण सयपत्री फूलमा देखिएको छन् ।

नेपालमा मागअनुसार गुलाफको उत्पादन हुनसकेको छैन । अन्य स–साना कार्यक्रम र सजावटका लागि नेपालकै उत्पादनले धाने पनि प्रेम दिवसका लागि भने हरेक वर्ष गुलाफको आयात बढ्दै गइरहेको छ । देशभर बजारको मागअनुसार ८० प्रतिशत अर्थात् ९६ हजार स्टिम गुलाफको फूल आयात गर्नुपर्ने व्यवसायीले बताएका छन् ।

फेब्रुअरीमा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकूल मौसम अर्थात् जाडो सिजन हुने भएकाले यहाँ गुलाफको आन्तरिक उत्पादनमा कमी आएको प्राविधिक बताउँछन् । यस वर्षको प्रेम दिवसमा देशभर एकदेखि सवा करोडसम्म फूलको कारोबार हुने पुष्प व्यवसायीको अनुमान छ ।

गत वर्ष देशभर एक लाख २० हजार स्टिम गुलाफको फूल आयात भएको थियो भने यस वर्ष २४ हजार स्टिम घटेको छ । गत वर्ष प्रतिस्टिम ८० देखि सय रुपैयाँको हाराहारीमा दुई लाख स्टिम गुलाफको कारोबार भएको थियो ।

नेपालमा गुलाफ फूलको व्यावसायिक खेती मुख्यगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला तथा चितवन र काभ्रेमा हुने गर्छ । चितवनको उत्पादन घटेसँगै धेरै प्रतिशत गुलाफ विदेशबाट ल्याउनुपर्ने बाध्यता छ । (रासस)

प्रकाशित समय ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु