गृहपृष्ठ मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ

मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ

वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुख्र्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट नयाँपुलबाट सोमबार पक्राउ परेका हुन् ।

अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा लैजाने भन्दै काठमाडौँबाट नेपालगञ्ज हुँदै भारतको नयाँदिल्ली पुर्याएर त्यहाँबाट चेन्नाई हुँदै श्रीलंका पुर्याएपछि एक महिला अलपत्र परेकी थिइन् । श्रीलंका पुर्याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिई थुनामा राखेको अवस्थामा श्रीलंकाली प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो ।

ती महिला श्रीलंकाको जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दूतावासको सहयोगमा उनलाई नेपाल फर्काइएको ब्यूरोले जनाएको छ । महिलालाई गएको माघ ३० गते नेपाल फर्काइएको थियो । ती महिलाको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरी कारवाही अगाडि बढाएको ब्यूरोले जनाएको छ ।

प्रकाशित समय ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु