गृहपृष्ठ डोल्पाका दलितलाई छाक टार्नै मुस्किल

डोल्पाका दलितलाई छाक टार्नै मुस्किल

हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ ।

जिल्लाका अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने, ढुंगा बोक्ने, मल बोक्नेलगायतका काम गरेर पनि बिहान बेलुकीको छाक टार्न धौ‑धौ पर्ने गरेको उनीहरुको गुनासो छ । ‘पढ्ने, लेख्ने कलिलै उमेरमा बिहे गराइदिए, घरमा कसैको रोजगारी छैन, एक छाक टार्न पनि १० पटक सोच्नुपर्ने बाध्यता छ,’ त्रिपुरासुन्दरी नगरपालिका १ की कलमी सार्कीले भनिन्, ‘बिहान–बेलुकी छाक टार्नकै लागि दैनिक मजदुरी नगरी सुख छैन, एक छाक खान र एकसरो लगाउन रातदिन नभनी ढुंगा–माटोसँग खेल्नुपर्ने बाध्यता छ ।’

गरिबीकै कारण औषधोपचार गर्ने पैसा नपाएर घरनजिकै बस्ने एक छिमेकी महिलाको आँखैअगाडि मृत्यु भएको सार्कीले बताइन् । दलितलाई ढुंगा कुटेर पनि खान नपुग्ने र पढेलेखेकाले पनि जागिर नपाउने अवस्था अझै कायमै रहेको स्थानीय गीता सार्कीको गुनासो छ ।

खाइनखाई अर्काको मजदुरी गरेर पढाएका छोराछोरी पनि जागिर नपाएर अर्काकै मजदुरी गर्न बाध्य भएको रुप्सी सार्की बताउँछिन् । ‘बाबुआमाको जस्तै दैनिक मजदुरी गरेर खानुपर्ने अवस्था नआओस् भन्दै शरीरलाई रातदिन पिसेर छोरालाई कक्षा १२ पास गराएँ, अहिले त्यही छोरो सानोतिनो जागिर पनि नपाएर मजदुरीमै लाग्न बाध्य भयो, दलितलाई पढेलेखेर पनि के काम छ,’ उनले भनिन् ।

दुर्गम ठाउँका पढेलेखेका दलित शक्ति र पहुँच नभएकै कारण जागिरको आशा मारेर मजदुरीमै लाग्न बाध्य हुने गरेको उनको भनाइ छ । ‘पाखुरामा बल हुन्जेल त दैनिक मजदुरी गरेर आफू र आफ्नो परिवारको पेट पालौँला, भोलि बुढेसकालमा कसरी छाक टार्ने त्यही कुराको ठूलो पिरलो छ,’ उनले भनिन् ।

कलमी र रुप्सी जस्तै जुफाल दुनै, त्रिपुराकोट, ल्हालगायतका विकट गाउँबस्तीमा बसोबास गर्ने अधिकांश महिलाको पीडा एउटै छ । सानै उमेरमा बिहे गरेर धेरै सन्तान जन्माउने कारणले अधिकांश महिलालाई पाठेघर खस्ने समस्यासमेत देखिएको दलित अगुवा बमबहादुर सार्कीले बताए ।

कमजोर अर्थावस्था भएकै कारण दुर्गमका दलित महिला उपचार गर्नुको सट्टा रोग लुकाएर बस्ने गरेको सार्कीले बताउँछन् । ‘जिल्लाका अधिकांश दलितको जग्गा केही टुक्रामात्र छ, त्यसमा उत्पादन पनि नगन्य मात्र हुन्छ, त्यसैले पनि कतिपय दलित अझै पनि माथिल्लो जातसँग खलो थापेर पुस्ता धानिरहेका छन्,’ उनले भने ।

गाउँमै सरकार भए पनि दलित महिलाको जीवनस्तर उकास्नका लागि अहिलेसम्म कसैले पनि सहयोग नगरेको सार्कीको भनाइ छ । गरिबीले ग्रस्त जीवन झेल्दै दलित महिलाको जीवनलीला समाप्त हुने गरेको दलित अगुवाहरुको दुखेसो छ । देशमा जति व्यवस्था परिवर्तन भए पनि ग्रामीण भेगका दलित अझै पनि रोग, भोक र शोकले ग्रस्त भएको उनीहरु बताउँछन् । (रासस)

प्रकाशित समय ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु