गृहपृष्ठ वडाको विकासमा युवावर्गको सहभागिता सुनिश्चित गर्न माग
वडाको विकासमा युवावर्गको सहभागिता सुनिश्चित गर्न माग
अनुपस्थित भएकोमा वडाध्यक्षप्रति असन्तुष्टि
वडाको विकासमा युवावर्गको सहभागितालाई सुनिश्चित गर्नुपर्ने खाँचो सम्बद्ध व्यक्तिहरुले औंल्याएका छन् । ललितपुर महानगरपालिका–११ शिक्षा, युवा तथा खेलकुद समितिले शुक्रबार च्वबु गाहिटीमा आयोजना गरेको ‘वडाको विकासमा युवावर्गको भूमिका’ विषयक अन्तर्क्रिया विकासमा युवा सहभागिता औंल्याइएको हो ।
वडाको योजना तर्जुमा र योजना कार्यान्वयनमा युवा सहभागिता सुनिश्चित गराउनुपर्नेमा पनि उनीहरुले जोड दिए । वडाका विभिन्न टोलका युवाको आवश्यकता पहिचान गरी योजना तर्जुमा गर्न र वडास्तरीय सञ्जाल निर्माण गर्ने उद्देश्यले कार्यक्रम गरिएको समितिका संयोजक एवं वडासदस्य कृष्ण महर्जनले जानकारी गराए ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले युवावर्गको सामाजिक, आर्थिक, विकासमा स्थानीय तहको भूमिका प्रभावकारी हुनुपर्ने बताए । त्यस्तै, ललितपुर महानगरपालिका–११ का वडा सदस्य आपुलु शाक्यले आगामी वर्षहरुमा वडास्तरीय युवा भेला, युवा सशक्तीकरण र नेतृत्व विकासका लागि बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय युवा महासंघ ललितपुर शाखाका अध्यक्ष राजेश बज्राचार्यले वडा, टोल, गुठीलगायतका सामाजिक संस्थाले युवाको क्षमता सदुपयोग गर्ने वातावरण तयार गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा च्वबु गाहिटी टोल सुधार समितिका अध्यक्ष दिनेश महर्जनले धार्मिक, सांस्कृतिक रुपले विशिष्ट रहेको वडाको समग्र विकासमा युवावर्गको भूमिका सुनिश्चित गराउन जनप्रतिनिधिलाई ध्यानाकर्षण गराए ।
वडाअध्यक्षप्रति असन्तुष्टि व्यक्त
वडाले पहिलोपटक आयोजना गरेको सार्वजनिक समारोहमा समेत वडाध्यक्ष इन्द्रमान महर्जन अनुपस्थिति भएपछि सहभागीले असन्तुष्टि पोखेका छन् । औपचारिक पत्र पाएर प्रमुख अतिथि बन्न स्वीकार गरेका वडाध्यक्ष महर्जन कुनै जानकारी नै नदिई अनुपस्थिति भएको भन्दै सहभागीले विरोध जनाएका हुन् ।
प्रकाशित समय १४:४५ बजे

















