गृहपृष्ठ म्याग्दीका विद्यालयमा टेलिटिचिङ
म्याग्दीका विद्यालयमा टेलिटिचिङ

म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन केही विद्यालयमा टेलिटिचिङको अवधारणा अघि सारेको छ । भौगोलिक रुपले विकट रहेको र विद्यालयमा पर्याप्त विषयगत जनशक्ति नभएकाले गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयमा टेलिटिचिङको अवधारणा अघि सारिएको जनाइएको छ ।
एक विद्यालयको पठनपाठनको शैलीलाई अर्को विद्यालयमा प्रत्यक्ष रुपमा हेर्न मिल्ने नयाँ प्रविधि ‘टेलिटिचिङ’ प्रयोग गरेर पठनपाठन शुरुवात गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए । उनले गाउँपालिकाको आर्थिक सहयोग, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको प्राविधिक सहयोग र गाउँपालिकास्तरीय शिक्षक महासंघको समन्वयमा टेलिटिचिङ शुरु गर्न लागिएको उल्लेख गरे ।
अध्यक्ष पुनले भने ‘गाउँपालिकाभित्र १० वटा मावि तहका विद्यालय छन्, ती सबै विद्यालयमा उच्चगतिको इन्टरनेट जडान गरी स्मार्ट टिभीमार्फत एक विद्यालयको पठनपाठन शैली अर्को विद्यालयले प्रत्यक्ष रुपमा हेर्न मिल्ने बनाउँछौं ।’
विद्यालयमा छुट्टै टेलिटिचिङ कोठा तयार पार्न थालिएको र स्मार्ट टिभी र इन्टरनेटको बन्दोबस्त गर्ने काम भइरहेको छ भने महावीर पुनले यसअघि नै विस्तार गरेको ताररहित इन्टरनेट प्रविधिलाई उपयोग गरी टेलिटिचिङ शुरुवात गर्न लागिएको हो ।
सो कार्यका लागि चालु आर्थिक वर्षमै गाउँपालिकाले १० लाख बजेट विनियोजन गरिसकेको र अपुग हुने पाँच लाख ७० हजार गाउँपालिकाका अध्यक्षले व्यक्तिगत रुपमै जुटाउने प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाबाट विनियोजन भएको बजेटबाट इन्टरनेट जडान सम्बन्धी सामग्री खरिद गरिएको छ ।
–कमल खत्री/रासस
प्रकाशित समय १४:४३ बजे