गृहपृष्ठ बुटवलमा ३ हजार ८ सय ४० एकल महिला

बुटवलमा ३ हजार ८ सय ४० एकल महिला

burawan upamahanagar palika-newskarobar

बुटवल उप–महानगरपालिकाले नगरका एकल महिलाहरुका लागि सीपमुलक र आयमुलक कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले एकल महिलाहरुका लागि आवश्यकता अनुसारका सीपमुलक कार्यक्रमहरु सञ्चालन गरिने बताएका हुन् ।

उप–महानगरमा रहेका एकल महिलाहरुको विस्तृत विवरणसहितको तथ्यांक समग्री शुक्रबार बुझ्दै प्रमुख सुवेदीले एकल महिलाका साझा समस्याहरुलाई पहिलो प्राथमिकता दिँदै सोही अनुरुपका कार्यक्रमहरु तय गरिने बताए । त्यस्तै उप–प्रमुख गुमादेवी आचार्यले नगरलाई लैंगिक हिंसामुक्त बनाउने अभियानस्वरुप महिलाहरुमा आर्थिक, सामाजिक अधिकारका क्षेत्रमा पनि विशेष कार्यक्रम बनाइने बताईन् ।

उप–महानगरको सहयोगमा मानव अधिकारका लागि एकल महिला समूहले नगरभरका एकल महिलाहरुको तथ्यांक संकलन गरी नगरप्रमुख र उपप्रमुखलाई बुझाएको थियो । उक्त समूहका रहेका ९ महिलाहरुले गत बैशाख १ देखि नगरमा रहेका एकल महिलाहरुको तथ्यांक संकलनको काम सुरु गरेको समूहका अध्यक्ष पवित्रा खनालले दिईन् ।

प्रत्येक वडामा पुगेर घर परिवारलाई भेटेर एकल महिलाको विवरण संकलन गरिएको बताउँदै समूहकी सचिव नारायणी पाटा मगरले एकल महिलाहरुका समस्याहरुसमेत अभिलेखमा समावेश गरिएको बताए । नगरमा १८ देखि एक सय ७ वर्ष उमेर समूहका एकल महिलाहरु रहेको नगरमा बुझाइएको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा धेरै वडा नं. ११ मा ८ सय ८५ एकल महिला रहेको समूहकी अर्की सदस्य अरुणा श्रेष्ठले जानकारी दिईन् । सबैभन्दा कम ६३ जना वडा नं. ४ मा रहेका छन् ।

प्रकाशित समय २१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु