गृहपृष्ठ भुसालले भने– धेरै गरेँ तर सरकारबाट धन्यवादसम्म पाइन
भुसालले भने– धेरै गरेँ तर सरकारबाट धन्यवादसम्म पाइन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अवकासप्राप्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको कार्यकालमा २ लाख ३५ हजार घर निर्माण भएका छन् । प्राधिकरणका चौथो नेतृत्वकर्ता एवं तेस्रो सीईओ भूसालको साढे ८ महिनाको अवधिमा ५ लाख ४ हजारभन्दा बढी घर निर्माण सुरु भएका छन् । पदमुक्त भएपछि आफ्नो कार्यकालको परिणाम सार्वजनिक गर्दै उनले ७ लाख १२ हजारभन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता पाइसकेको बताए ।
अघिल्लो नेतृत्वभन्दा आफू बढी काम गर्न सफल भएको दाबी गरेका भुसालले ४ लाख ४१ हजारले दोस्रो किस्ता र एक लाख ९४ हजारले तेस्रो किस्ता रकम पाएको उल्लेख गरे । सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै भुसालले आफ्नो कार्यकालभरमा २ लाख ५६ हजार गुनासा आएकोमा एक लाख फछ्र्यौट गरेको उल्लेख गरे ।
भुसालले सरकारले आफूले गरेको कामप्रति धन्यवादसमेत नदिएको गुनासो गरे । प्राधिकरणको कार्यकक्षमा भुसालले सरकारले पठाएको अवकास पत्र पढेर सुनाउँदै धन्यवाद नदिँदा दुःख लागेको बताए । ‘सरकारले आफूलाई लक्षित गरी पदमुक्त नगरी २०७४ भदौ १४ देखि फागुनसम्म अघिल्लो सरकारले नियुक्त गरेका सबै पदाधिकारीलाई सेवामुक्त गरेकाले त्यसमा मेरो कुनै गुनासो छैन,’ उनले भने, ‘नयाँ सरकार बनेपछि पनि मलाई झन्डै पाँच महिना काम गर्न सहज वातावरण बनाइदिएकोमा सरकारलाई धन्यवाद छ ।’
३४ वर्षको सरकारी सेवापछि पनि ३२ जिल्लामा नौ लाखभन्दा बढी जनताको हितका लागि काम गर्ने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गरे । भूकम्पपीडितलाई ऋण दिलाउन भने आफू असफल रहेको भन्दै भुसालले माफी मागे । भूकम्पपीडितलाई र्निब्याजी ऋण दिने र २ प्रतिशत ब्याजदरमा ऋण दिने काम चाहेर पनि गर्न नसकेको उनको भनाइ छ ।
यस्तै, पुनर्निर्माणको काममा प्राविधिक कर्मचारी अभाव हुन नदिन नियमित कर्मचारी पदपूर्तिको व्यवस्था मिलाइएको उनले जानकारी दिए । पुनर्निर्माणको कामलाई गति दिन भूकम्पप्रभावित २८ जिल्ला पुगेर स्थानीय तहका पदाधिकारीसँग अन्तक्र्रिया गरी समस्या समाधानका लागि पहल गरेको भुसालले बताए ।
प्रकाशित समय १९:४३ बजे