गृहपृष्ठ न्वारनको भोज खाँदा ३५ बिरामी

न्वारनको भोज खाँदा ३५ बिरामी

food-newskarobar

धादिङको गजुरी गाउँपालिका–४ गैरीगाउँमा न्वारनको भोज खाँदा आइतबार ३५ जना बिरामी परेका छन् । गाउँकै अनिल चेपाङको छोरीको न्वारनको भोज खाएपछि नातेदार र छरछिमेक बिरामी परेको विजय चेपाङले जानकारी दिए ।

भोज खाएपछि वाकवाक लाग्ने, रिंगटा लाग्ने, केही समयपछि बेहोस भएर नबोली बस्ने तथा केही मानिस भने डर लागेको बताउने, रुने, कराउने गरिरहेको उनले जानकारी दिए ।

न्वारनको भोज खान करीब १०० जना जम्मा भएका थिए । शुरुमा पुरोहित शुक्रबहादुर चेपाङ र भान्छामा सहयोगीको काम गर्ने वीरसिंह चेपाङले खाना खाएका थिए । खाना खाएपछि उनीहरुले सामान्य रिंगटा लागेको बताएका थिए ।

भोजमा भात, आलु र कालो दाल, मासु र तरकारी राखिएको थियो । सुगनका रुपमा जाँड र रक्सीसमेत राखिएको वीरसिंह चेपाङले बताए ।

बिरामीलाई गाउँमै प्राथमिक उपचार गरिरहेको र आवश्यक परेमा अस्पताल लगिने तयारी भइरहेको वडाध्यक्ष सुरेन्द्र चेपाङले जानकारी दिए । घटनास्थल पृथ्वी राजमार्गको आदमघाटबाट पाँच घण्टाको पैदल दूरीमा पर्छ ।

प्रकाशित समय २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु