गृहपृष्ठ दुर्घटनाबाट तीन वर्षमा झण्डै तीन सयको मृत्यु
दुर्घटनाबाट तीन वर्षमा झण्डै तीन सयको मृत्यु

धादिङमा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २ सय ९० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा मात्र सवारी दुर्घटनाबाट १ सय १७ को मृत्यु भएको छ । दुर्घटनामा २ सय ७ जना घाइते भएका छन् । अधिकांश सवारी दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा ७७ जना, २०७३/७४ मा ९६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दुर्घटना बढ्दै गएकाले दुर्घटना कमी गर्न कदम चाल्नु पर्नेमा जोड दिँदै आएको छ ।
जिल्लामा भएका अधिकांश दुर्घटना सवारी साधनको तीव्र गतिका कारण हुने गरेको छ । चालकले मादकपदार्थ सेवन, थकान र निद्राले पनि दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाइ छ । यसबाहेक तनाव, उत्तेजना, सडकको दूरावस्था र पुराना सवारी साधनका प्रयोगले दुर्घटना बढेको छ । साँघुरो र जीर्ण सडक, अर्को सवारीलाई उछिन्ने र तीब्र गतिले सवारी चलाउने गर्दा दैनिकजसो सवारी दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ ।
पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, कालुपाण्डे मार्ग र विभिन्न ग्रामीण क्षेत्रसम्मको कच्ची सडकको सञ्जाल भएको धादिङ जिल्लामा पृथ्वी राजमार्गमा सबैभन्दा बढी दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गर्छन् ।
(रासस)
प्रकाशित समय ११:२५ बजे