गृहपृष्ठ मोरङस्थित श्री माविकाे पानीट्यांकीमा विष, १३ विद्यार्थी बिरामी
मोरङस्थित श्री माविकाे पानीट्यांकीमा विष, १३ विद्यार्थी बिरामी
खानेपानी ट्यांकीनजिकै भेटियो साइपर मेथिन नामक विषादीको बट्टा
मोरङको लेटाङ नगरपालिका-९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयमा विष हालेको पानी पिउँदा १३ विद्यार्थी विरामी परेका छन् । विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात समूहले विष हालेको पानी पिएर मंगलबार बिहान १३ विद्यार्थी बिरामी परेका हुन् ।
ट्यांकीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मंगलबारे अस्पतालमा उपचार भइरहेको छ ।
बिहान ११ बजे विद्यार्थीले सो ट्यांकीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए । खानेपानी ट्यांकीनजिकै साइपर मेथिन नामक विषादीको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिए ।
घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । सो विद्यालयमा कक्षा १ देखि १२ सम्मका ४ सय ९१ विद्यार्थी अध्ययनरत छन् ।
-रासस
प्रकाशित समय १३:५० बजे

















