गृहपृष्ठ जनकपुरलाई फोहरमुक्त गर्न प्रदेश सांसद यादव सक्रिय
जनकपुरलाई फोहरमुक्त गर्न प्रदेश सांसद यादव सक्रिय
जताततै फोहर, हिलाम्य बाटो, छाडा चौपाया ऐतिहासिक जनकपुरधामको विशेषता बन्दै गएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउन लागेपछि सिँगारिएको जनकपुरधाम फेरि कुरुप बन्दै गएको छ । डम्पिङ साइटको अभाव, नगर क्षेत्रभित्रै जताततै फोहरको थुप्रो, नाला जाम भएर हिलाम्य बाटो, छाडा गाईवस्तुले गर्दा जनकपुरले आफ्नो ऐतिहासिक पहिचान गुमाउँदै गएको छ ।
जनकपुरधाममा दैनिक २५ टनभन्दा बढी फोहर निस्कने गरेको छ । ऐतिहासिक दूधमति नदी किनारमा फोहर फाल्दा यसको धार्मिक महत्व मासिँदै गएको छ । बजार क्षेत्रका व्यापारीहरुले जथाभावी फोहर फाल्दा त्यसले पनि बजारको सौन्दर्यमा प्रभाव पारेको छ ।
सफाइ अभियानको नेतृत्व गर्दै प्रदेश सांसद यादव
प्रदेश नम्बर २ का सांसद समाजसेवी रामाअशिष यादवसहितको टिमले जनकपुरलाई सुन्दर र स्वच्छ बनाउनका लागि यसअघि नै फोहोरले भरिभराउ गंगासागर तलाउ सरसफाई गर्दै आएका छन् । उनीहरुले हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थितिमा महागंगा आरती गराउँदै आएका छन ।
जनकपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको मनोभावमा अघात नपुगोस भन्ने भावनाल स्वच्छ, सफा र सुन्दर जनकपुर अभियानअन्तर्गत प्लाष्टिक झोलामुक्त अभियानको थालनी गरिएको गंगासागर सफाई अभियान एवम् क्लिन एण्ड ग्रीन जनकपुर अभियानका संयोजकसमेत रहेका समाजसेवी सांसद यादवले बताए ।
अभियानअन्तगत हाट, बजार, चौक, सार्वजानिक स्थल तथा विद्यालयहरुमा गएर प्लाष्टिक झोलाको प्रयोग नगर्न र यसको असरबारे जानकारी गराउनुको साथै अभियानकै क्रममा कपडाको झोला वितरणसमेत गरिदै आएको अभियानकै सदस्य कृष्णचन्द्र साहले जानकारी दिए ।
प्रदेश सांसद यादवसहितको अभियान्ताहरुको टोली शुक्रवार जनकपुरको हिमाली बोर्डिङ स्कुल पुगेर विद्यार्थीहरुलाई प्लाष्टिक झोलाको प्रयोगले वातावरणमा पार्ने असरबाट जानकारी गराएको थियो ।
पर्यटकीय दृष्टिकोणले पनि जनकपुर महत्वपूर्ण मानिन्छ । जानकीको ऐतिहासिक मन्दिर, राम मन्दिर, जनक मन्दिरलगायत अनेकन पर्यटकीय गन्तव्य यहाँ छन् तर तिनको विकास र प्रवद्र्धनतर्फ कसैको ध्यान गएको छैन । यहाँ ऐतिहासिक एवम् परम्परागत पहिचानका माध्यम छन् तर ती सबै ओझेलमा परेकाले जनकपुर सङ्कटग्रस्त देखिन्छ । यहाँका मौलिक सम्पदाको संरक्षण र विकासभन्दा पनि ओहोदामा बस्नेहरुलाई कसरी दोहन गरेर फाइदा लिने भन्नेतर्फ बढी रुचि देखिन्छ ।
प्रकाशित समय ०७:५८ बजे

















