गृहपृष्ठ दाहाल यज्ञनिधिको पैतालिसौं स्मृति दिनमा शोकसभा

दाहाल यज्ञनिधिको पैतालिसौं स्मृति दिनमा शोकसभा

yagyanidhi dahal -newskarobar

साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको ४५ औं स्मृति दिनमा नागार्जुन साहित्यिक प्रतिष्ठानले लोकताान्त्रिक आन्दोलनमा गणतन्त्र काव्यटार घोषित अनामनगरस्थित दाहालको ‘दैलो’मा सोमबार शोकसभाको आयोजना गर्यो ।

चर्चित रेडियो कार्यक्रम ‘साहित्य संसार’ को प्रस्तुतकर्ता तथा साहित्य लेखनका माध्यमबाट लोकप्रिय भएका दाहाल यज्ञनिधिको गत साउन २५ गते मस्तिष्कघातका कारण निधन भएको थियो । उनको जन्म वि.सं. २०१० साउन ८ गते खोटाङमा भएको थियो । दाहाल सो प्रतिष्ठानका संस्थापक सल्लाहकार एवं पूर्वअध्यक्ष पनि हुन् ।

शोकसभामा राष्ट्रियसभाका सांसद एवं साहित्यकार खेम नेपालीले साहित्यिक, सांस्कृतिक र सामाजिक जागरणमा दाहालको भूमिका महत्वपूर्ण रहेको बताए । प्रतिष्ठानका सल्लाहकार डा. रामप्रसाद ज्ञवालीले दाहालका साहित्यिक र सांस्कृतिक क्षेत्रमा हक्की र स्पष्ट स्वभाव एवं प्रगतिशील विचार सदा स्मरणीय रहने जनाउँदै उनको कृतित्व झल्कने गरी नागार्जुनले विशेष प्रकाशन गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले दाहालले साहित्यिक पत्रकारिता र साहित्यिक पत्रकार संघको इतिहासमा दिएको योगदानको स्मरण गरे ।
प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालले दाहालको स्मृतिमा सम्मान÷पुरस्कार स्थापना र विशेष प्रकाशन गरिने जानकारी गराए ।

वि.सं. २०५८ मा राजाले प्रत्यक्ष शासन सञ्चालन गरेपछि सो प्रतिष्ठानले दाहालको अगुवाइमा हरेक महीना शुभप्रभात काव्यगोष्ठी सञ्चालन र लोकतान्त्रिक साहित्यकार भेलाको संयोजन गरेको थियो । सोही समयमा प्रतिष्ठानको कार्यालय तथा दाहालको निवास रहेको दाहालको दैलोलाई गणतन्त्र काव्यटार घोषणा गरिएको थियो ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु