गृहपृष्ठ त्रिपोलीमा युद्धविराम भंग, राष्ट्रसंघ प्रमुखद्वारा चासो व्यक्त
त्रिपोलीमा युद्धविराम भंग, राष्ट्रसंघ प्रमुखद्वारा चासो व्यक्त
तस्बिर : गुगल
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेसद्वारा लिबियाको राजधानी त्रिपोलीमा पटकपटक युद्धविराम भंग गरेकोप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।संयुक्त राष्ट्रसंघको पहलमा केही समय पहिले अर्थात् अगस्ट २६ मा युद्धविराम भएको थियो ।
महासचिवका प्रवक्ता स्टेफन डुजारिकले आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘त्रिपोलीमा विभिन्न सशस्त्र समूहलाई समेटेर युद्धविराम गरिएको तर पछिल्ला केही हप्ता यता युद्धविराम भंगका घटना बढेकोप्रति राष्ट्रसंघ प्रमुख गुटेर्रेस चिन्तित हुनुहुन्छ ।’
राष्ट्रसंघका विशेष प्रतिनिधि घसन सलामको पहलमा भएको युद्धविरामलाई युद्धरत पक्षद्वारा पूर्णरूपमा पालना गर्न र सर्वसाधारणलाई प्रभावित हुनबाट जोगाउन वक्तव्यमा भनिएको छ ।
आइतबार लिबियाली एक मन्त्रीले गत शुक्रबार दुई शसस्त्र समूहबीच भएको भिडन्तमा १० जनाको मृत्यु भएको बताएपछि वक्तव्य जारी गरिएको हो । घटनामा सर्वसाधारणसहित ५९ जना घाइते भएका बताइएको छ ।
राष्ट्रसंघले युद्धविराम भएको गत अगस्ट २६ पछि त्रिपोलीमा भएका युद्धविराम भंगका घटनामा कम्तीमा एक सय ६ जनाको मृत्यु भएको जनाएको छ ।
रासस/सिन्ह्वा
प्रकाशित समय १३:०५ बजे

















