गृहपृष्ठ प्रेमाछिरिङले भक्कानिँदै भने- कसले बचाइदेला मेरो छोरो !
प्रेमाछिरिङले भक्कानिँदै भने- कसले बचाइदेला मेरो छोरो !
हुम्लाको चंखेली गाउँपालिका–५, नेप्कामा भदौ ३० गते आएको पहिरोका कारण घाइते भएका छोरा बचाउन बुवाआमाले सहयोगको अपिल गरेका छन् । चंखेलीनजिकैको ठूलो चट्टान फुटेर पहिरो जाँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो ।
सुक्खा पहिरोका कारण चंखेली–५ का ८ वर्षीय युकेश तामाङको टाउकोमा गम्भीर चोट लागेको छ । घटनामा घाइते तामाङ नेपालगन्जस्थित मेडिकल कलेजमा आईसीयूमा छन् ।
‘छोराको टाउकोमा गम्भीर चोट लागेको छ । घरको आर्थिक स्थिति नाजुक छ, कसरी उपचार गर्ने,’ युकेशका बुवा प्रेमाछिरिङले भने, ‘छोराको जीवन बचाउन आर्थिक सहयोगको आशामा बसेको छु । अहिलेसम्म कसैले सहयोग गरेको छैन ।’
प्रदेश तथा स्थानीय सरकारले पहल गरे छोराको जीवन बचाउन सकिने आशा उनलाई छ । ‘सुक्खा पहिरोका कारण मेरो छोराको यो हालत भएको छ,’ उनले भने, ‘प्रदेश तथा स्थानीय सरकारले प्राकृतिक विपतमा परेकालाई सहयोग गर्छ भनेर सुनेको छु, तर मलाई गरेको छैन ।’
हवाई भाडामा नै आफ्नो भएभरको जायजेथा सकिएको उनले बताए । ‘भाइकी छोरीको काठमाडौंमा उपचार भइरहेको छ । कान्छी भान्जीको पहिरोमा परेर मृत्यु भयो । मेरा लागि न सरकार न आफन्त न त गैरसरकारी निकाय, कोही भएनन्,’ भक्कानिँदै उनले भने ।
प्रकाशित समय १९:०८ बजे

















