गृहपृष्ठ जिम्मेवारीबाट पन्छिँदै यातायात व्यवसायी, यात्रुलार्इ सास्ती

जिम्मेवारीबाट पन्छिँदै यातायात व्यवसायी, यात्रुलार्इ सास्ती

dhangadi-buspark-newskarobar

सुदूरपश्चिमका सार्वजनिक सवारीसाधन क्यु फ्रिमा छोडेर यातायात समितिहरु जिम्मेवारीबाट पन्छिएपछि दसैंमा आवतजावतमा समस्या हुने देखिएको छ । सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीबाट दैनिक सेवा दिँदै आएका सुदूरपश्चिम, कर्णाली, मालिका यातायात समितिले बुधबारदेखि क्यु फ्रिमा बस छोड्ने निर्णय गरिसकेका छन् ।

अब न टिकट काउन्टरमा टिकट पाइनेछ न रुटअनुसार बस सञ्चालन हुनेछन् न त सवारी धनीलाई बस चलाउनैपर्ने बाध्यता हुनेछ। क्यु फ्रिकै कारण बुधबार र बिहीबार घर जाने तयारीमा रहेकाले सास्ती पाउने भएका छन् । सुदूरपश्चिम यातायात समितिका अध्यक्ष पदम सापकोटाले भने प्रत्येक वर्षजसो यो वर्ष पनि क्यु फ्रि छोडिएको बताए ।

धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्ला तथा तराई क्षेत्रमा समेत क्यु फ्रिको समयमा थेरै बसहरु सञ्चालन हुने गरेका छन् । न्यून मात्रामा बस सञ्चालन हुने र यात्रु धेरै हुने भएकाले यो समयमा दुर्घटनाको जोखिमसमेत बढी हुने गरेको छ ।

दसैंको दिन कर्मचारी खटाएर टिकट काट्न नसकिने यातायात समितिले बताउँदै आएका छन् । कर्णाली रिभर यातायात समितिका अध्यक्ष धिरज शाहीले सार्वजनिक सवारी चालक र सवारी धनीले पनि दसैं मनाउनुपर्ने अभिव्यक्ती दिए ।

सार्वजनिक यातायातका लागि निजी क्षेत्रका व्यवसायीको भर परिएको अवस्थामा चाडवाड र अप्ठ्यारो परिस्थितिमा जिम्मेवार भएर काम नगर्दा सयौं यात्रुले दुःख झेल्नुपर्ने भएको छ । बसहरुलाई क्यु फ्रि छोडिँदा यातायात व्यवसायीले बस सञ्चालनका लागि यातायात कार्यालयबाट पटके स्वीकृत लिनुपर्ने हुन्छ र इच्छा भएको क्षेत्रमा बस सञ्चालन गर्न पाउँछन् । यो समयमा सार्वजनिक यातायात व्यवसायीको मानोमानी हुन्छ । उनीहरुले इच्छा नभए यात्रुलाई बाटोमै छोड्ने र मनलाग्दै भाडा असुल्ने गर्ने गरेको विगतको अनुभव छ ।

ये क्षेत्रका यातायात व्यवसायी समितिले सवारी धनीको चाहनाअनुसार सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाउने प्रणाली लागू गर्न लागेको हो । जसले गर्दा दसैंमा सार्वजनिक यातायातले रुट परमिट लिएको स्थानमा सवारी नचलाउने समस्या देखिने छ भने यात्रुलाई आवतजावतमा समस्या हुने देखिएको छ ।

क्यु फ्रि भएसँगै सार्वजनिक यातायात तोकिएभन्दा बाहिर सञ्चालन हुने र मनपरी भाडा संकलन गर्ने समस्या आउने गरेको छ । सबैभन्दा ठूलो पर्वकै समयमा सडकमा सवारी नपाउँदा यात्रु अलपत्र पर्ने समस्या छ ।

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु