गृहपृष्ठ किन बढ्यो महिला हिंसा ? पाँच वर्षमा १५ सय हिंसाका घटना

किन बढ्यो महिला हिंसा ? पाँच वर्षमा १५ सय हिंसाका घटना

mahila-worker-newskarobar

नेपालमा महिला र बालबालिकासँग सम्बन्धित हिंसाका घटनासम्बन्धी उजुरी पाँच वर्षको अवधिमा झन्डै दोब्बर बढेको छ । बलात्कार र बलात्कार प्रयासका घटनाको उजुरीमा पाँच वर्षमा अत्यधिक वृद्धि भएको प्रहरी तथ्यांकले देखाएको हो ।

पाँच वर्षअघि बलात्कारका नौ सय घटना दर्ता भएका थिए । सरकारले बलात्कार, बेचबिखन, बाल तथा बहुविवाह र बोक्सीको आरोपलाई महिला र बालबालिकासम्बन्धी हिंसाको परिभाषामा राखेको छ । आर्थिक वर्ष २०७४÷७५ सम्म आइपुग्दा महिला हिंसाको संख्या झन्डै १५ सय नाघेको छ । त्यसमध्ये बलात्कार प्रयासका उजुरी सात सय नाघेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ ।

तराईमा बढी हिंसा
तथ्यांकअनुसार सबैभन्दा बढी घटना तराईमा देखिएको छ । कुल हिंसाको ५३ प्रतिशत तराईका घटना छन् । पहाडमा ४१ र हिमाली क्षेत्रमा ६ प्रतिशत बलात्कारका घटना दर्ता भएका छन् । त्यसमा ६२ प्रतिशत बलात्कारका घटनामा परिचितको संलग्नता रहेको देखिएको छ । बसेर्नि महिलाविरुद्धका हिंसाका घटना बढ्नुमा भने कानुनी व्यवस्था फितलो मुख्य कारक देखिएको महिला अधिकारकर्मी बताउँछन् ।

सचेतनाले उजुरी बढ्यो
सरकारले महिलाविरुद्धका हिंसालाई मेलमिलाप गरेर टुंग्याउनु हुन्न भन्ने नीति लिएकाले पनि महिलाविरुद्धको हिंसासम्बन्धी उजुरी बढेको प्रहरीको दाबी छ । ‘महिलाविरुद्धको हिंसासम्बन्धी उजुरी बढ्नुमा अपराधीलाई छोड्नुहुन्न भन्ने सचेतना बढेकाले हो, यसबाट अपराधीले उन्मुक्ति नपाउने आशा राखेको देखिन्छ,’ प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री भन्छन् । पीडितले पीडकलाई उन्मुक्ति दिनुहुन्न भन्ने सोचाइमा वृद्धि हुनु, आपसी मर्यादा र सम्मानका विषय बिर्सिनु र सामाजिक सञ्जालमा अनुशासनहीन सोचाइ पनि महिला हिंसा बढ्नुका कारण रहेको उनले बताए ।

कानुन अझै कमजोर
सरकारले गएको भदौ १ गतेदेखि लागू गरेको देवानी र फौजदारी संहितामा त्यसबारे स्पष्ट उल्लेख नभएको महिला अधिकारवादीहरूको संस्थाहरुले बताएका छन् । महिलाविरुद्धको हिंसा सरकारको प्राथमिकतामा नभएको महिलाअधिकारको क्षेत्रका काम गर्ने संस्था संकल्पकी अध्यक्ष लिली थापाको आरोप छ । उनी भन्छिन्, ‘नयाँ ऐनसमेत आवश्यकताअनुसार बलियो छैन, महिला हिंसाका घटनालाई अदालतले प्राथमिकता दिने भनिए पनि त्यो हुन नसक्दा समस्या थपिएको छ ।’

आत्मरक्षा तालिम
विद्यमान कानुन बलियो नभएको भन्दै अपराधीलाई कारबाही गर्न अझ कडा कानुन चाहिने अधिकारकर्मी बताउँछन् । नेपाल प्रहरीले भने सबै प्रदेशका विभिन्न तहमा हिंसा न्यूनीकरण अभियान कार्यान्वयनमा आइसकेको र केन्द्रीय तहमा छिट्टै थालिले बताएको छ ।

बलात्कारका घटना बढेसँगै विभिन्न जिललामा किशोरी तथा युवतीलक्षित आत्मरक्षा तालिमसमेत दिन सुरु गरिएको छ । स्थानीयस्तरमा ‘फाइट ब्याक’ कार्यक्रम दिन थालिएको हो । यसले किशोरीहरुमा आफूमाथिको यौनहिंसा रोक्न तथा प्रतिकार गर्न जनचेतना तथा मनोबल बढाउने विश्वास लिइएको छ ।

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु