गृहपृष्ठ काठमाडौं सुनसान, गाउँमा दसैंको रौनक

काठमाडौं सुनसान, गाउँमा दसैंको रौनक

काठमाडौंबाट जानेहरुको पर्यटकीय क्षेत्रमा घुइँचो

tikapur-park-newskarobar

देशको संघीय राजधानी काठमाडौं यतिबेला सुनसान छ । नेपालीहरुको महान चाड दसैं मनाउनका लागि कर्मथलो काठमाडौं छाडेर मानिसहरु आ–आफ्ना गृहजिल्ला पुगिसकेका छन् ।

राजधानीबासी पुगेपछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी र प्रदेशका अन्य जिल्लामा भने दसैंको चहलपहल बढेको छ । बडा दसैंको आठौं दिन बुधबार महाअष्टमी यस प्रदेशका विभिन्न शक्तिपिठहरुमा धुमधामका साथ मनाइएको छ । महाअष्ठमीको दिन बुधबार डोटीलगायत सुदूरपश्चिमका शक्तिपिठमा बिहानैदेखि पूजाआज गर्ने र पशुबली दिनेको घुइँचो छ ।

बैतडीको त्रिपुरा सुन्दरी भगवती, डडेल्धुराको अग्रतारा भगवती, डोटीको शैलेश्वरीस्थित कालिका भगवती तथा डोटीकै प्रसिद्ध तिखा गाउँमा रहेको कालढुंगा भगवतीको मन्दिरमा बिहानैदेखि बलीसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ भएको थियो । सो क्रममा स्थानीयको उल्लेख्य उपस्थिति रह्यो ।

शक्तिपिठहरुमा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेधसहित नौवटा वस्तुको दुर्गा थापी पूजा गर्ने चलन छ । दसैं मनाउन आएकाहरु शक्तिपिठहरुमा पूजापाठ तथा टीका ग्रहणपश्चात यहाँका रमणीय स्थलमा घुम्न जाने गरेका छन्, जसले यहाँका धार्मिक तथा पर्यटकीय स्थलको रौनकता थप बढाएको छ ।

chisapani-newskarobar

धनगढीको जोखर ताल, एसियाकै नमुना कर्णाली पुल, कञ्चनपुरको दोधारा चाँदनी झोलुंगे पुल, पर्यटकीय स्थल खानीडाँडा, लिंगा क्षेत्र, टीकापुर पार्क, घोडाघोडी ताललगायतका स्थानमा स्थानीयको बाग्लो उपस्थिति छ । दसैंको समयमा ती क्षेत्रमा परिवारसहित पिकनिक खान जानेहरु पनि उत्तिकै छन् ।

टीकापुर पार्कमा होस् या घोडाघोडी तालमा स्थानीयको राम्रै जमघट देख्न सकिन्छ । गाउँ फर्किएकाहरुलाई तस्बिर लिन भ्याइनभ्याइ छ । तराईका बासिन्दाका लागि गर्मी छल्ने गन्तव्य बन्दै गएको कैलालीको खानीडाँडाले अहिले धेरैको मन लोभ्याइरहेको छ ।

खानीडाँडामा दैनिक हजारौं मानिस तराईबाट गर्मी छल्न जाने गरेका छन् । समुद्री सतहबाट ४ हजार फिट उचाइमा रहेको खानीडाँडा हिजोआजको मौसममा समेत निकै सुन्दर देखिन्छ । तराईका सुन्दर फाँटहरुको अवलोकनका लागि पनि खानीडाँडा धेरैको आक्रषर्णको केन्द्र बन्दै गएको छ ।

ghodadhi-newskarobar

गाउँ फकिएकाहरु साथीभाइ तथा आफन्तसँग भेटघाट गर्न, अष्टमीका दिन बनेका मिठा–मिठा परिकार खान र पर्यटकीय गन्तव्य घुम्नमै व्यस्त देखिएका छन् । वर्ष दिनपछि घर फर्किनेहरुलाई स्थानीयताले निकै प्रभावित पार्ने गरेको स्थानीय बुद्धिजीवी बताउँछन् ।

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु