गृहपृष्ठ बैतडीमा खोरेत रोगको प्रकोप
बैतडीमा खोरेत रोगको प्रकोप
बैतडीको डिलाशैनी गाउँपालिकाका केही वडामा पशुमा देखिने खोरेत रोगको प्रकोप देखिएको छ ।
वडा नं ३ को पङसेरा, गिरीबगड, बमरोडा र वडा नं ५ को दौंतलामा पशुमा खोरेत रोग देखा परेको डिलाशैनी गाउँपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक धर्मानन्द जोशीले जानकारी दिए । ती ठाउँमा करीब १५० गाईभैँसी तथा बाख्रामा खोरेत रोग देखा परेको छ ।
गाउँपालिकाका विभिन्न वडामा खोरेत रोगको प्रकोप देखिएपछि रिङ भ्याक्सिनेसनको काम शुरु गरिएको छ । खोरेत रोगले महामारीको रुप लिएपछि अन्य ठाउँमा सर्न नपाओस् भन्नका लागि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको सहयोगमा भ्याक्सिनेसन शुरु गरिएको हो । खोरेत रोगबाट पशु प्रभावित भएपछि किसान चिन्तित छन् ।
भाइरसका कारण पशुमा देखिने यो रोगले पशुको खुट्टा पाक्नेलगायतका लक्षण देखा पर्ने गरेका छन् । यो सरुवा रोग भएकाले अन्यत्र ठाउँबाट सरेको हुन सक्ने पशु प्राविधिकले बताएका छन् । खोरेत रोग लागेको पशुलाई निरोगी पशुको संसर्गबाट टाढा राख्नुपर्ने अन्यथा रोग बढी फैलिने खतरा हुने प्राविधिकले बताएका छन् ।(रासस)
प्रकाशित समय ०९:२८ बजे

















