गृहपृष्ठ नेपाल सम्वत ११३९ को अवसरमा पोखरामा भिन्तुना र्याली
नेपाल सम्वत ११३९ को अवसरमा पोखरामा भिन्तुना र्याली
नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११३९ को स्वागतार्थ पोखरामा बिहीबार बृहत भिन्तुना ¥याली निकालिएको छ । नेवा खलः कास्कीको आह्वान तथा तेर्सापट्टी कचा खलः, तेर्सापट्टी मिसा पुचः र तेर्सापट्टी ल्याम्हः पुचःको संयुक्त आयोजनामा पोखरामा न्हुँ दया भिन्तुना र्याली निकालिएको नेवा खलः कास्कीका उपाध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सामाजिक सदभावले समृद्धि हासिल गर्न सकिने बताएका छन् । भिन्तुना र्यालीको समापन समारोहमा नगर प्रमुख जिसीले नेपाल बहुजातिको बसोबास भएकाले सबै जातजातिबीच आपसी सदभाव कायम हुन सकेमात्र समृद्धि हासिल गर्न सकिने बताएका हुन् । नयाँ संविधानले पनि सबै जातजातिको संरक्षण गरेको उनको भनाइ छ ।
तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले नेपाल सम्वतलाई नेपाली क्यालेन्डरमै उल्लेख गरी सबैलाई स्वीकार्य बनाउनुपर्ने बताइन् । नेवा खल कास्कीका उपाध्यक्ष तीर्थ श्रेष्ठले नेपालको पुरानो सम्वत नेपाल सम्वतलाई नेपाली कामकाजमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
यसैबीच, नेवा छेँ भवन प्रांगणमा निर्माण गरिएको नेपाल सम्वतका प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकको अनावरण गरिएको छ ।
प्रकाशित समय २०:१० बजे

















