गृहपृष्ठ यस्ता छन् तिहारका भाका
यस्ता छन् तिहारका भाका
तिहारलाई लक्षित गर्दै देउसी भैलोसँग सम्बन्धित नयाँ–नयाँ गीत सार्वजनिक भएका छन् । दसैंको रौनक सकिएलगत्तै तिहारलक्षित गीत युट्युबमार्फत सार्वजनिक भएका हुन् । तीज र दसैंजस्तै तिहारका लागि पनि विभिन्न कलाकारले तिहार गीत बजारमा ल्याएका छन् ।
यस्ता पर्व गीतले संस्कृति जोगाउनुका साथै आम्दानी पनि राम्रो हुने भएकाले कलाकारले चाडपर्वलाई लक्षित गरेर तिहार गीत बजारमा ल्याएका हुन् । यस्ता गीत हिट भएपछि यतिबेला कलाकारलाई तिहार कन्सर्टको भ्याइनभ्याई छ । गीतले पर्वको रौनक पनि बढ्ने र आम्दानी पनि हुने भएकाले आफूहरुले तिहारमा देउसी भैलो गीत ल्याएको गायक–गायिका बताउँछन् ।
लोक गायक गायिकामात्र नभई आधुनिक र पप विधाका थुप्रै गायक–गायिकाले विगतमा झैं यसपटकको तिहारलाई पनि लक्षित गरेर देउसी भैलो गीत ल्याएका छन् । जुन गीतले तिहारको रौन बढाएको छ ।
सर्जक तेजश रेग्मी र सम्झना भण्डारीको आवाजमा तिहार लक्षित ‘नयाँ गल्बन्दी…’ बोलको गीत सार्वजनिक भएको छ । संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका निर्देशक शिव विकले भिडियोको निर्देशन गरेका छन् । गीतमा निर्देशक तथा मोडल प्रेम थापा र रिना गुरुङको अभिनय देख्न पाइन्छ । दर्जनौं भिडियो निर्देशन तथा अभिनय गरिसकेका मोडल तथा निर्देशक प्रेम थापाले देउसी भैलो गीत मौलिक परम्परामा आधारित भएकोले संकृति जगर्नेना गर्न आफूले सक्दो मेहनत गरेको बताउँछन् ।

यो वर्ष सबैभन्दा बढी तिहार गीत बजारमा ल्याउनेमा गायक खुमन अधिकारी पर्छन् । उनले तिहारकै लागि ६ वटा गीत बजारमा ल्याएका छन् । ‘तिहारको कन्सर्टलाई मध्यनजर गर्दै गीत बजारमा ल्याएको हुँ, मेरो गीत तिहारमा बढी हेरिने र सुनिने भएकाले पनि मलाई देउसी भैलोका गीतको बढी प्रस्ताव आउँछ,’ खुमन भन्छन् । ‘फेरि आयो तिहारको रन्को, नाच्ने रहर पुग्ने भो यो मनको…’ यो वर्ष रिलिज भएकामध्ये सबैभन्दा बढी युट्युबमा हेरिएको गीत बनेको छ । गीतमा खुमन अधिकारी, सीता थापा, अमृता लुंगेली मगर, मञ्जु गौतम, सविता भुजेललगायतको स्वर र अभिनय छ ।
खुमन र लक्ष्मी परियारको स्वरमा ‘मिली आयौं केटा केटी…’ र ‘बजा भाइ बजा मादलै बजा…’ यसै वर्ष बजारमा आएका तिहार गीत हुन् । खुमन र चन्द्रकला बीसीको स्वरमा ‘आयो हजुर तिहारै गाउन…’ टीका पुन र खुमनकै स्वरमा छन् । खुमनजस्तै तिहार गीत चर्चामा रहेकै कारण यसपटक पनि गायिकाहरू पूर्णकला बीसी, अमृता लुंगेली मगर, सीता थापालगायतले तिहारको गीत ल्याएका छन् ।

गायक पशुपति शर्माले पनि तीज र दसैंपछि यो वर्षको तिहारलाई पनि लक्षित गरेर देउसी भैलो गीत ल्याएका छन् । देवी घर्तीसँग उनले यो वर्षको तिहार गीत ल्याएका हुन् । विगतका तिहारमा पनि देउसी भैलो गीत ल्याएका गायक शर्माले यसपटक पनि त्यसैलाई निरन्तरता दिन यो गीत ल्याएका हुन् । आफैंले फरकफरक तीज गीत ल्याएका गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले यो तिहारलाई लक्षित गरेर संयुक्त रूपमा तिहार गीत ल्याएका छन् । यो तीहार गीत चर्चामा हुँदा सुनितालाई जस्तै प्रकाश सपुतलाई पनि तिहार कन्सर्ट कार्यक्रमको भ्याइनभ्याइ छ ।

गायक तथा कलाकार नन्दराम परियारले ‘आयो तिहार…’ भाग ५ बजारमा ल्याएका छन् । हरेक वर्ष तिहारमा आफ्नो छुट्टै प्रस्तुतिसहितको गीत बजारमा ल्याएर दर्शक, श्रोताको मन जित्न सफल कलाकार परियाको यो वर्ष पनि तिहार विशेष गीत बजारमा आएको हो ।
प्रकाशित समय २०:२३ बजे

















