गृहपृष्ठ मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राखिँदै
मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राखिँदै
बैतडी, १४ पुस – बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ ।
मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरु भएको उक्त संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिए ।
पाटन नगरपालिका र पुरचौंडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा आइसकेको उनले बताए । “अन्य स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकालाई तालीम दिने कार्य शुरु भएको छ,” उनले भने ।
महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रभित्रका गर्भवती महिलाको नाम मोबाइलमा इन्ट्री गरेपछि गर्भवती महिलाको अनुमानित सुत्केरी हुने मिति, गर्भजाँच गराउने मिति स्वयंसेविकाको मोबाइलमा आउने र यसले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुग्न सजिलो हुने जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन् ।
उनले भनिन् “मातृदर र बालमृत्युदर घटाउन यो कार्यक्रमले सहयोग पुग्नेछ।”
प्रकाशित समय १२:२० बजे