गृहपृष्ठ उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

chhath parba sakiyo

छठ पर्वको अन्तिम दिन बुधबार उदाउँदो सूर्यलाई पूजा आराधनाका साथ अर्घ्य अर्पण गरी ब्रतालुले ब्रत तोडेका छन् । मंगलबार दिनभर निराहार व्रत बसेका व्रतालुले बुधबार विहान उदाउँदो सूर्यलाई पूजा गरी अघ्र्य दिएपछि मात्रै छठको समापन गरेका हुन् ।

काठमाडौं उपत्यकासहित मिथिला नगरी एवं तराईका अधिकांश स्थानमा बिहानैदेखि नदी, पोखरी एवं नहर किनारमा अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्नेको बाक्लो उपस्थिति छ । यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवालगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।

छठ पर्वका लागि जनकपुरका पोखरी, वीरगंजको घडीअर्वा पोखरी, विभिन्न नदी तलाउ तथा राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत बाग्मती, शंखमुल, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको थियो । मंगलबार साँझ देशरभ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो ।

सूर्यदेवको पूजा र उपासना गरिने यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता मानिन्छ ।

द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको महाभारतमा उल्लेख छ । सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिने यो मौलिक पर्व हो । संसारको विकास सूर्यबिना सम्भव छैन । रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको जीवन सूर्यमाथि निर्भर हुन्छ । सूर्य किरणको चिकित्सामाथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत पत्ता लगाइएको छ ।

छठ पर्वमा सूर्यको पूजा र उपासनाले दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा व्रत बस्न नसक्नले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरू भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

छठको पहिलो दिन (चतुर्थी) व्रतालुले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत सुरु गर्छन् । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् । राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन् ।

यस दिनपछि व्रतालुले पूर्ण व्रत लिन्छन् । तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठेकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै जलाशयसम्म पुग्ने गर्छन् ।

परिकारहरू जलाशयको किनारमा राख्नु अघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतालुले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतीले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

पर्वको चौथो अर्थात् अन्तिम दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।

प्रकाशित समय ०६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु