गृहपृष्ठ बुटवललाई ‘नो ड्रग जोन’ बनाउने प्रहरीको योजना
बुटवललाई ‘नो ड्रग जोन’ बनाउने प्रहरीको योजना
वडा प्रहरी कार्यालय बुटवलले सहरलाई ‘नो ड्रग जोन’ बनाउने भएको छ । बुटवल प्रहरीले लागुऔषध शून्य प्रयोग हुने स्थान बनाउने गरी नयाँ रणनीतिक योजना अगाडि बढाएको हो ।
रुपन्देहीको मुख्य सहर बुटवल प्रदेश ५ को अस्थायी मुकाम हो । नवलपरासीको सुनवल हुँदै रुपन्देहीको देवदहलगायतका स्थानबाट बुटवलमा लागुऔषधको नयाँ कारोबारी हुने सूचनाको आधारमा प्रहरीले उक्त योजना अगाडि बढाएको हो ।
भारतीय सीमा नाका बेलहियाबाट वडा प्रहरी कार्यालयलगायत बीच–बीचमा प्रहरी कार्यालय र बिट परिचालन भएकाले बेलहियाबाट अहिले केही कम मात्रामा बुटवल लागुऔषध कारोबार हुने प्रहरीको भनाइ छ । तर, नवलरासीका विभिन्न नाका हुँदै बुटवल लागुऔषधको ट्रान्जिट प्वाइन्टको रुपमा बुटवल विकास हुँदै गएकाले यसलाई निस्तेज पार्न शून्य सहनशीलताको अभियान अगाडि बढाइएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।
कुनै पनि अपराधजन्य घटनालाई शून्यमा झार्ने गरी प्रहरीले नयाँ रणनीतिक योजनासहित टिम परिचालन गरेको उनले बताए । ‘अब प्रहरीले एउटा टिम नै बनाएर यस विषयमा लागेको छ । हामी आफ्नो लक्ष्यमा पुगेर छोड्छौं,’ उनले भने । महिला हिंसा, घरेलु हिंसालगायत लागुऔषध प्रयोगलाई शून्यमा झार्ने गरी नयाँ योजना बनाएर अघि बढेको उनको भनाइ छ ।
प्रकाशित समय ११:१८ बजे

















