गृहपृष्ठ पोखरा विमानस्थलको धावन मार्ग मर्मत सुरु, उडान प्रभावित
पोखरा विमानस्थलको धावन मार्ग मर्मत सुरु, उडान प्रभावित
पोखरा विमानस्थलको धावन मार्गको मर्मत कार्य सुरु भएको छ । विगत एक दशकपछि विमानस्थलको धावन सुधारको काम थालिएको हो ।
धावन मार्गमा खाल्डाखुल्डी भएकाले प्राविधिकको रायअनुसार आइतबारदेखि मर्मत थालिएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाइँले जानकारी दिए । धावन मार्ग मर्मतको क्रममा दिउँसो ३ बजे देखि हवाई प्रभावित हुने भएको छ ।
१५ दिनसम्म दिउँसो ३ बजे पछिका सम्पूर्ण उडान रद्द गरिएको र अगाडी नै विभिन्न एयरलायन्स कम्पनीलाई सूचना दिइएको निर्देशक गुरागाइँले बताए । उनका अनुसार दिउँसो ३ बजे देखि राति करिब १२ बजेसम्म मर्मतको काम हुने भएकोले हेलिकोप्टर बाहेक अन्य हवाई उडान हुनेछ्रैन । बेलुकाको उडान बिहान सार्न आग्रह गरिएको छ ।
१ हजार ४ सय ४७ मिटरको रनवे, ३० मिटरको चौडाई, पार्किङ स्थल, फायर ब्रिगेड लगायतको क्षेत्रको पिच मर्मत गर्न लागिएको हो । धावन मार्ग मर्मतका लागि करिब दुई करोड खर्च लाग्ने निर्देशक गुरागाइँको भनाइ छ ।
पोखरादेखि हाल दैनिक ४३ वटा हवाई उडान हुँदै आएको छ । बुद्ध एयर, यति एयर, तारा एयर, सिम्रिक एयर र नेपाल एयरलाइन्स लगाएतका कम्पनीले उडान भर्दै आएका छन् । दृश्यावलोकनको लागि हेलिकप्टर, अल्ट्रालाइट र जहाजले समेत हवाई उडान गर्दै आएका छन ।
प्रकाशित समय ०८:२८ बजे

















