गृहपृष्ठ बालुवा चाल्दै जीवन गुजार्दै

बालुवा चाल्दै जीवन गुजार्दै

१५ जनाको परिवार, कोही रोजगार छैनन्

baluwa-surkhet-newskarobar

भेरीगंगा नगरपालिका–२ सुर्खेतकी २५ वर्षीय गीता विश्वकर्माको घरमा १५ जनाको परिवार छ । १५ जनाको परिवारमध्ये कसैको पनि रोजगार छैन ।

काम गरेरै उनको परिवारले पेट पालीरहेको छ । १५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी गीताको घरमा ३ जना छोराछोरी, सासुसुरा, नन्द देवर गरेर पन्ध्रजना छन् । घरमा १५ जना सदस्य भए पनि कसैको रोजगार छैन । गीताका श्रीमान् भने किड्नीको समस्याका कारण थला परेका छन् । उनका देवर र गीता भने वीरेन्द्रनगर नगरपालिका–११ को झुप्राखोलामा बालुवा चाल्न आइपुग्छन् । दिनमा एकट्याक्टर बालुवा चालेपछि २५ सय कमाई हुन्छ ।

त्यसमा पनि पाँच सय रुपैयाँ झुप्राखोलामै बस्दै आएका वादी बस्तीको लागि दिनु पर्छ । ‘एक्लैले एक ट्रयाक्टर बनाउन पाए त राम्रै कमाइ हुन्थ्यो । तर ४ जनाले मात्रै दिनमा एकट्रयाक्टर बालुवा बनाउन भ्याईन्छ,’ गीता भन्छिन्, ‘त्यो पाँच सय रुपैयाँ झुप्राखोलामा रहेका वादी बस्ती जो बालुवा खानीको मालिक आफूलाई सम्झन्छन्, उनीहरुलाई दिनु पर्दछ ।’

गीतासँगै बालुवा चाल्न २६ वर्षीय दुर्गा विश्वकर्मा पनि झुप्राखोलामै आउँछिन् । बिहान बेलुकिको गर्जो टार्नको लागि दुर्गालाई पनि झुप्राखोलामा बालुवा चाल्न नआई सुख छैन ।

‘बालुवा नै हाम्रो रोजीरोटि हो । विहानै आयो बालुवामा लडिबुडी खेल्यो दिनमा पाँच सय जती बल्ल बल्ल कमाईन्छ,’ दुर्गाले भनिन्, ‘त्यसैले नुनतेल र छोराछारीको कापी–कलम किन्नुपर्छ ।’

भेरीगंगा नगरपालिका–२ सत्तरीमा उनीहरुको घर छ । अहिले सम्म बिजुली बत्ती र बाटोसमेत उनीहरुको गाउँसम्म पुगेको छैन । ‘सधैँ आउन त धौ–धौ हुन्छ तर नुनतेल सकियो भने हामी झुप्राखोलामा बालुवा चाल्न आईपग्छौं,’ दुर्गाले भनिन् ।

गीता र दुर्गा मात्रै होइन भेरीगंगा २ सत्तरीका अधिकांश महिला तथा पुरुषहरुको रोजिरोटी झुप्राखोलाको बालुवा हो ।

सामान्य लेखपढ गरेका उनीहरु रोजगारको ग्यारेण्टी सरकारले गरोस् भन्ने चाहान्छन् । तर, सरकारले हुनेखोनका लागि मात्रै बजेट र कार्यक्रम ल्याएको उनीहरुको गुनासो छ ।

प्रकाशित समय ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु