गृहपृष्ठ व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैन : मन्त्री महासेठ
व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैन : मन्त्री महासेठ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घले ११ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा शनिबार आयोजना गरेको प्रभातफेरीमा महासेठले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताए । देश बनाउने जिम्मेवारी निर्माण व्यवसायीकै भएको उनको भनाइ थियो ।
‘विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भए होलान्, अब त्यस्ता कमी कमजोरी सच्याएर अघि बढ्नुको विकल्प छैन,’ मन्त्री महासेठले भने । उनले २०५२ सालदेखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।’
महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन वर्तमान नेतृत्व क्रियाशील रहेको दावी गरे । अहिलेको सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार बनाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निर्माणमैत्री वातावरण अहिलेको आवश्यकता भएको बताए । महासङ्घका उपाध्यक्ष आङदोर्जी लामा(एडी) ले भौतिक पूर्वाधारको निर्माणबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए । महासङ्घका महासचिव रोशन दाहालले सरकार र व्यवसायीबीचको सहकार्यबाट मात्र निर्माण क्षेत्रको विकास हुने बताए ।
उपमहासचिव टङ्कप्रसाद चौंलागाईले निर्माण दिवसको महत्वमाथि प्रकाश पारेका थिए । सो अवसरमा मन्त्री महासेठले महासङ्घको मुखपत्र ‘निर्माण समाचार’ को विमोचन गरे । प्रभातफेरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै अनामनगरस्थित महासङ्घको सचिवलाय पुगेर टुङ्गिएको थियो ।
प्रकाशित समय १७:२५ बजे

















