गृहपृष्ठ धनुष यज्ञ सम्पन्न, सीताले पहिराइन् वरमाला
धनुष यज्ञ सम्पन्न, सीताले पहिराइन् वरमाला
बिहान ९ बजे नेपाल-भारत सीमा क्षेत्रमा पर्ने जटहीमा अयोध्याबाट आइरहेका जन्तीको भव्य स्वागत गरिँदै
रामजानकी विवाहपञ्चमीको तेस्रो दिन जनकपुरमा धनुष यज्ञ गरिएको छ । बाह्र बिघा रंगभूमी मैदानमा आयोजित धनुष यज्ञमा हजारौं आन्तरिक तथा बाह्य श्रद्धालु भतजनको सहभागिता थियो ।
मिथिलाका राजा जनकले धनुष उठाएर धनुषमा वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने निधोका साथ गरिएको धनुष यज्ञमा सयौं शक्तिशाली र वलबानहरुले धनुष हल्लाउन सकेनन् । अन्त्यमा, दशरथ पुत्र श्रीरामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर वाण हान्न खोजेपछि तीन टुक्रा भएको थियो ।
तत्कालीन त्रेतायुगमा धनुष भाँचेर तीन टुक्रामध्ये एक आकाश, एक पाताल धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ । अहिले धनुषाधाम र गिरिजास्थानमा भव्यताका साथ धनुषको पूजापाठ हुँदै आएको छ ।
धनुषयज्ञमा श्रीरामले धनुष उठाएर भाँचेपछि सीताले वरमाला पहिराउँदै कार्यक्रम सम्पन्न गरिएको रामजानकी विवाहपञ्चमी महोत्सव समितिका अध्यक्ष एवं जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास बैष्णवले जानकारी दिए । सोमबार बिहान अयोध्याबाट जनकपुर जन्ती आउने कार्यक्रम छ ।
हात्ती, घोडा र उँटमा एक हजारभन्दा बढी जन्ती अयोध्याबाट जनकपुर आउने भएकाले बिहान ९ बजे नेपाल-भारत सीमा क्षेत्रमा पर्ने जटहीमा जन्तीलाई भव्य स्वागत गर्ने कार्यक्रम छ । जन्तीको स्वागतका लागि मन्दिर र मूल समितिको तर्फबाट रामरोशन दासलगायतका साधुसन्त, महात्मा र समाजसेवी सहभागी हुनेछन् । सोमबार दिउँसो राम मन्दिरमा तिलकोत्सव कार्यक्रम हुनेछ ।
प्रकाशित समय ०७:४४ बजे

















