गृहपृष्ठ केरुङ–काठमाडौँ रेलमार्ग रहने स्थानको निरीक्षण

केरुङ–काठमाडौँ रेलमार्ग रहने स्थानको निरीक्षण

Train from Kerung to Nepal

रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेसनल रेल्वे अथोरिटीका अधिकारी टोलीले मंगलबार केरुङ–काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाबारे स्थलगत जानकारी लिएको हो । स्थलगत निरीक्षणमा रहेका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरेको जानकारी दिए ।

टोलीमा विभागका महानिर्देशक कलराम मिश्रलगायतका अधिकारी र चिनियाँ टोलीमा चिनियाँ नेसनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङलगायतको सहभागिता थियो । संयुक्त टोलीले काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थालगायत विषयमा जानकारी लिएको छ ।

यस्तै चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग शिष्टाचार भेटवार्ता गरी रेलमार्ग निर्माणको विषयमा जानकारी गराएको थियो । नेपाली र चिनियाँ टोलीले बुधबार काठमाडौँ–पोखरा रेलमार्ग रहने स्थानको समेत स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

केरुङ–काठमाडौँ रेलमार्गको दूरी करिब ८० किलोमिटर हुनेछ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करिब तीन खर्ब लागत अनुमान गरिएको छ । काठमाडौँ–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ । सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुनेछ । (रासस)

प्रकाशित समय २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु