गृहपृष्ठ सीमामा वारिपारिको मिलोमतोमा अपराध

सीमामा वारिपारिको मिलोमतोमा अपराध

aparadh-newskarobar

भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ । सुनसरीमा करिब एक महिनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ । सुनसरीपछि अहिले झापा पनि भारतीयका लागि सुरक्षित अपराधस्थलका रुपमा चिनिन थालेको छ ।

खुला सीमाको फाइदा उठाएर पछिल्लो समय यस क्षेत्रमा एकपछि अर्को गर्दै भइरहेका शृंखलाबद्ध जघन्य अपराधका घटनामा भारतीय र सीमा क्षेत्रका नेपालीको समेत मिलोमतो देखिन थालेको छ । भारतीयसँग नाता सम्बन्धका साथै आर्थिक लेनदेनसम्म हुने गरेपछि आवतजावत बढ्दै जाने र विस्तारै आपराधिक घटना पनि मिलोमतो मै हुने गरेको घटनाक्रमले देखाएका छन् ।

एक साताअघि झापाको गौरीगन्जसँग सीमा जोडिएको भारतको सुपौल जिल्ला विहार राज्यअन्तर्गतका ७ वर्षीय बालक अपहरणमा परे । उनको अपहरणको उद्देश्य फिरौती माग्नेसँग सम्बन्धित थियो ।

व्यक्ति अपहरण गरी राख्ने र फिरौती माग्ने धन्दामा भारतीयसँग सीमावर्ती गौरीगन्ज गाउँपालिकाका तीन नेपालीसमेत परे । राजनीतिक तथा सामाजिक रूपमा समेत स्थापित भनिएका त्यहाँका बद्री यादवसहित अन्य दुईले बालक अपहरण गरी १५ लाख फिरौती मागेका थिए ।

मंगलबार पक्राउ परेका ४७ वर्षीय बद्री यादव, गौरीगन्ज–४ का ३१ वर्षीय श्रीप्रसाद मल्हा र गौरीगन्ज–४ की २७ वर्षीया अञ्जु मुखियाले भारत विहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा ७ वर्षीय मैफुजलाई मंसिर २० गते घरैबाट अपहरण गरी त्यहाँबाट गौरीगन्ज हुँदै दमकको एक होटलमा बन्धक बनाएर राखेको अवस्थामा फेला पारिएको थियो ।

भारतीय बालकलाई ल्याएर फिरौती माग्ने धन्दामा नेपालीकै सहयोग र आश्रय पाएपछि भारतीय अपराधीले सहजै नेपाली भूमिलाई अपराधको थलो बनाए । भारतीय अपराधीमाथि के–कस्तो कारबाही चलिरहेको छ भन्ने यकिन नभए पनि बालक अपहरण र फिरौती माग गर्ने यादवसहित तीन जनाविरुद्ध नेपाल प्रहरीले भने शरीर बन्धक तथा अपहरण मुद्दामा म्याद थपको आदेश लिएर थप अनुसन्धान अघि बढाएको छ ।

गौरीगन्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको सक्रियतामा दमकबाट बालकको उद्धारपछि इलाका प्रहरी कार्यालय दमकले ती बालकलाई भारतीय प्रहरीको जिम्मा लगाइसकेको छ । आइतबारमात्रै गौरीगन्ज–२, भाकुरमारीबाट प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न एक भारतीयविरुद्ध उक्त प्रहरी कार्यालयले लागुऔषध ओसारपसार मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाइरहेको छ ।

केही समयअघि गौरीगन्ज–२ का एक नेपालीको सीमावर्ती भारतीय दशगजामा भारतीय अपराधीले हत्या गरे । त्यो घटनामा नेपाल प्रहरीले भारतमै गएर अपराधी पहिचान गरी पक्राउ गरेको भए पनि कारबाहीका लागि भारतीय सुरक्षाकर्मीकै भर पर्नुपरेको प्रहरी निरीक्षक पौडेलले बताए । उनले भने, ‘अपराध भारतीयले गरे वा नेपालीले मात्रै गरे भन्न सक्ने अवस्था छैन । अपराध जसले गरे पनि त्यो अपराधी हो ।’ चाहे नेपाली हुन् या भारतीय सबैलाई नेपाल प्रहरीले कसुरअनुसार हुँदैसम्मको कारबाही गर्दै आएको उनको भनाइ छ । (यज्ञराज आङ्देम्बे– रासस)

प्रकाशित समय ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु