गृहपृष्ठ कालीकोटको पलातामा भीषण आगलागी, ३० घर जलेर नस्ट
कालीकोटको पलातामा भीषण आगलागी, ३० घर जलेर नस्ट
आगलागीकै कारण उदयपुरमा तीन करोड रूपैयाँ बराबरको क्षति
सांकेतिक तस्बिर
कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । आगो नियन्त्रणमा आउन सकेको छैन ।
न्यौपाने बस्तीमा आगलागी हुँदा अहिलेसम्म ३० घर जलिसकेको बताइएको छ । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ ।
मध्य राति आगलागी शुरु भए पनि क्षतिको यकिन हुन सकेको छैन । इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको छ । प्रहरीलाई त्यहाँ पुग्न चार घण्टाको समय लाग्ने भएकाले त्यहाँको क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गए रातिदेखि टेलिफोन सम्पर्क पनि राम्रो नभएका कारण घटनाको सत्यतथ्य बुझ्न पनि निकै कठिन भएको छ । पलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको गाउँमा रहेका सबै घर जलेको हो । जिल्ला सदरमुकामबाट ३२ कोषको दूरीमा पर्ने उक्त बस्तीमा सदरमुकामबाट पीडितलाई उद्धार गर्न सशस्त्र प्रहरी पनि खटाइएको छ ।
गए राति नै पलाता गाउँपालिकाको निर्माण कार्यदल त्यहाँ पुगेको छ । सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।
उदयपुरमा तीन करोड बराबरको क्षति
यता, उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा आगलागी हुँदा एक ट्याङ्कर र एक स्काभेटर जलेर नष्ट भई तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार गए राति ११ बजेतिर अचानक ट्याङ्करमा आगलागी हुँदा तेलसमेत जलेको र एक स्काभेटरसमेत जलेर नष्ट भएको छ ।
आगलागी भएपछि प्रहरी र स्थानीयवासीसहित कटारी नगरपालिकाको दमकलले आगलागी नियन्त्रण गरेको तर पनि ट्र्याङ्कर र स्काभेटर जलेर नष्ट भएको उपरीक्षक राईले बताए ।
आगलागी कसरी भयो वा कस्ले गरायो भन्नेबारे अहिले इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान शुरु गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रकाशित समय ०९:५९ बजे

















