गृहपृष्ठ पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन
पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन
सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।
हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्तामा कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । सम्पर्कविहीन तीनै बालिकाको खोजतलास भने तीव्ररूपमा भइरहेको क्षेत्रीले जानकारी दिए ।
‘१० गते नै सिम्ता गाउँपालिकासँग जोडिएको सल्यान जिल्लाको सल्लीबजारबाट मिलन विकको गाडी चढेका उनीहरु कहाँ गए भन्ने यकिन हुनसकेको छैन,’ प्रहरी नायब उपरीक्षक क्षेत्रीले भने, ‘११ गते मात्र प्रहरीलाई जानकारी हुँदा उनीहरुलाई भेटाउन सकिएन ।’ अहिले भने काठमाडौँ, बुटवल, नेपालगञ्जलगायत नेपालका सबै प्रहरी चौकीमा तीनै बालिकाको फोटोसहितको हुलिया दिएर खोजतलास भइरहेको क्षेत्रीले बताए ।
पुस १० गते विद्यालयबाट हाफटाइममा घर आएर म्याडमले गाली गर्नुहुन्छ भन्दै हतारमा स्कूल गएकी छोरी अहिलेसम्म नफर्केकी निशाकी आमा भगवती सिंहले बताइन् । ‘निशालगायत यमुना र रिसिमा कहाँ छन् थाहा छैन,’ सिंहले भनिन्, ‘प्रहरीलाई सोध्दा खोजतलासको काम अघि बढाएका छौँ भन्छन् ।’
प्रहरीले मिलन विकलाई सोधपुछ गर्दा उनीहरुलाई सल्लीबजारबाट निःशुल्क आफ्नो गाडीमा छिन्चु ल्याएको र बुटवल फुपूकोमा जान्छौँ भनेपछि छिन्चुबाट १९०४ नम्बरको बसमा नेपालगञ्ज चढाइदिएको बताएका छन् । उनीहरुलाई नेपालगञ्ज लैजाने १९०४ नम्बरको बसमा प्रहरीले बुझ्दा बालिकाले बुटवल जाने भनेकाले कोहलपुर चौराहमा बुटवल लागि छुट्न लागेको गाडीमा छोडिएको जनाइएको छ ।(रासस)
प्रकाशित समय ०८:५५ बजे

















