गृहपृष्ठ आर्सनलमाथि लिभरपुलको रवाफिलो जित, फिर्मिन्होको ह्याट्रिक

आर्सनलमाथि लिभरपुलको रवाफिलो जित, फिर्मिन्होको ह्याट्रिक

इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले आर्सनलविरुद्ध सानदार जित दर्ता गरेको छ ।

गएराति लिभरपुलकै घरेलु मैदानमा भएको खेलमा आर्सनल ५–१ गोलअन्तरले पराजित भएको हो । लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले ह्याट्रिक गरेका छन् । मोहमद सलाह र साडियो मानेले पनि एक–एक गोल गरे । आर्सनलका लागि मैथल्यान्ड निल्सको गोल नै सान्त्वना गोल बन्यो । खेलको ११ औं मिनेटमा आर्सनलका लागि निल्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएपनि लय कायम राख्न नसक्दा आर्सनलले अन्तिमसम्म पाँच गोल खायो ।

१४ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ को बराबरी दिलाए । १६औं मिनेटमा फिर्मिन्होले अर्को गोल गर्दै लिभरपुललाई २–१ गोलको अग्रता दिलाएका थिए । मानेले खेलको ३२ औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को बलियो स्थितिमा पुर्याए । ४५ औं मिनेटमा लिभरपुलका सलाहले गोल गरेपछि खेल ४–१ को स्थितिमा पुग्यो ।

दोस्रो हाफमा भने थप एक गोल गर्ने क्रममा ६५ औं मिनेटमा लिभरपुलका फिर्मिन्होले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । जितपछि लिभरपुलले २० खेलबाट ५४ अंक बनाएको छ । आर्सनलको २० खेलबाट ३८ अंक छ । दोस्रो स्थानकोे टोटनह्यामको १९ खेलबाट ४५ अंक छ ।

प्रकाशित समय ०९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु