गृहपृष्ठ सरकारलाई डिला संग्रौलाको प्रश्न : निर्मला पन्तको हत्यारा खै ?

सरकारलाई डिला संग्रौलाको प्रश्न : निर्मला पन्तको हत्यारा खै ?

नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले मुलुक अहिले जताततै समस्यै समयस्याबाट गुज्रिरहेको तथा निर्मला पन्तका हत्यारालाई पनि सरकारले नै संरक्षण गरिरहेको आरोप लगाएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सरकारलाई निर्मला पन्तको हत्यारा खै भन्दै प्रश्न गरिन् । कतिपय बलात्कारी र हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको उनको आरोप थियो । ‘देशमा अहिले भ्रष्टाचार व्याप्त छ,’ उनले भनिन्, ‘शान्तिसुरक्षाको अवस्था अत्यन्त कमजोर छ, यसको अर्थ सरकार असफल हुँदै गएको छ ।’

अन्य सांसदले राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला र निर्वाचन क्षेत्रसँग समसामयिक विषयमा संसद्मार्पmत सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा पहिलो वक्ताका रूपमा नेकपाका भीमबहादुर रावलले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माण गर्ने सन्दर्भमा भएको सम्झौता जिएमआर कम्पनीलाई कडाइका साथ पालना गराउँदै आयोजना अघि बढाउन सुझाव दिए ।

नेपालको राष्ट्रिय हित र सहमतिअनुसार उक्त परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकारबाट ठोस निर्णय गरियोस् भन्दै उनले कानून विपरित कार्य गर्ने तथा आयोजना लम्ब्याउन खोज्ने कम्पनीलाई म्याद नथप्न पनि आग्रह गरे ।

राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले अघिल्लो वर्ष असिना र बागमती नदीमा आएको बाढीले रौतहटका किसानले लगाएको खेतीपाती नष्ट भए पनि हालसम्म क्षतिपूर्ति पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सङ्घीय समाजवादी फोरम नेपालका सरिता गिरीले युरोप र अमेरिकासमेत सशङ्कित भएको चिनियाँ कम्पनी (हुवावे)लाई नेपालमा प्रधानमन्त्री कार्यालयको ‘वार रुम’को सूचना प्रविधिको व्यवस्थापन जिम्मेवारी किन दिइएको हो भनी प्रश्न गर्दै यसले मुलुकको सुरक्षा चिन्ता बढाउने पक्षलाई हेक्का गर्न आवश्यक रहेको औँल्याए ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले प्यूठानका विभिन्न भागका चुनढुङ्गाको अव्यवस्थित उत्खननले बस्ती पहिरोको जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले २०४१ सालसम्म मालपोत कार्यालय भक्तपुरमा नगरपालिकाको नाममा दर्तामा रहेको सल्लाघारीस्थित रानीपोखरीको जग्गा पञ्चायतकालमा सेनालाई हस्तान्तरण गरिएको जानकारी गराउँदै जनताको कला र सांस्कृतिक सम्पत्तिका रूपमा रहेको उक्त जग्गा पुनः सार्वजनिकरूपमै कायम हुनुपर्ने माग गरे ।

नेकपाका सत्या पहाडीले डोल्पामा सडक दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन र जिल्ला अस्पताललाई व्यवस्थितरूपमा सञ्चालन गर्न माग गरिन् ।

नेपाली कांग्रेसका दिव्यमणि राजभण्डारीले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा उपाधि लिन कोस्टारिकाको भ्रमण गरेको टिप्पणी गर्दै त्यहाँ भएको खर्चको विवरण सदनलाई जानकारी गराउन माग गरे ।

नेकपाका नारायण खतिवडाले गल्छी–त्रिशूली सडकअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाअन्तर्गत पर्ने आठ किमी सडकमा पर्ने जनतालाई विभेद नगरी मुआब्जा दिन माग गरे ।

नेकपाका टेकबहादुर बस्नेतले दाङमा केही दिनअघि भएको बस दुर्घटामा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति दिन र सो सडकको स्तरोन्नतिका लागि माग गरे ।

प्रकाशित समय १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु