गृहपृष्ठ पप्पु कन्स्ट्रक्सनले पुल नबनाएपछि अनसनमा स्थानीय

पप्पु कन्स्ट्रक्सनले पुल नबनाएपछि अनसनमा स्थानीय

२०७१ मंसिर ३१ मा निर्माण सम्पन्न हुनुपर्ने पुलको प्रगति ३० प्रतिशत !

ansan

धनुषाको सदरमुकाम जनकपुरधाम र सिराहाको सदरमुकाम जोड्ने कमला नदीमा शिलान्यास गरिएको पुल निर्माण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित भएका छन् । स्थानीयले उक्त पुल निर्माणमा गति दिन माग तीन दिनदेखि रिले अनसन गर्दै आएका छन् ।

करिब ७ वर्ष पहिले भौतिक पूर्वाधारमन्त्री हृदयेश त्रिपाठीले पुलको शिलान्यास गरेका थिए ।  समयमा पुल निर्माणको काम नभएपछि स्थानीयलाई एक जिल्लाबाट अर्को जिल्ला आउन जान समस्या भएको भन्दै हुलाकी सडक संघर्ष समितिले अनिश्चितकालीन रिले अनसन सुरु गरेको हो ।

सम्झौता भएको साढे ३ वर्षभित्र निर्माणको कार्य सम्पन्न गर्नु पर्ने भए पनि हालसम्म केही पिलर मात्रै गाडिएकाले उक्त पुल ६ महिनाभित्र निर्माण सम्पन्न गर्न माग गर्दै स्थानीयहरू सिराहा सदरमुकामस्थित हुलाकी सडकमै अनिश्चितकालीन रिले अनसनमा बसेका छन् ।

पुल निर्माणको ठेक्का पाएको पुल २०७१ मंसिर ३१ मै निर्माण सम्पन्न भइसक्नु पर्ने थियो । वि.सं. २०६८ साल जेठ ३१ गते पप्पु कन्सट्रक्सनलाई २८ करोड १५ लाखमा पुल निर्माणकत्र ठेक्का दिइएको थियो ।

तर, हालसम्म ३० प्रतिशत मात्र कार्य सम्पन्न भएको स्थानीयको भनाइ छ । पुलको निर्माण गर्ने जिम्मा पाएको पप्पु कन्सट्रक्सनले ५० प्रतिशत (१४ करोड रुपैयाँ) भुक्तानी लिइसकेको छ ।

पप्पुले समयमै पुल निर्माण नगरिदिएपछि स्थानीय जोखिम मोलेर डुंगाको सहाराले नदी पार गर्दै आएका छन् । विशेषतः वर्षायाममा स्थानीयले ठूलो सास्ती व्यहोर्नु परेको छ ।

नयाँ शक्ति पार्टी नेपालका नेता समेत रहेका हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवका अनुसार वर्षौंदेखि अलपत्र पारिएको पुल ठेक्केदार कम्पनीले बनाउनु पर्ने र सरकारले समेत पुल बनाउ दवाव दिनु पर्ने बताए ।

 

अनशनस्थल पुगे प्रदेश मन्त्री

स्थानीयहरुले पुल निर्माणको माग गर्दै रिले अनसन सुरू गरेपछि ऐक्यवद्धता जनाउन बिहीबार प्रदेश-२ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल अनशन स्थल पुगेका छन् ।

अनशनस्थल पुगेका उनले पुल निर्माण समयमै नहुनु मधेसको दुर्भाग्य भएको भन्दै पुल निर्माण कम्पनीलाई कारबाही गरी नयाँ ढंगले काम सुरु गर्नुपर्ने बताए ।

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु