गृहपृष्ठ समायोजनमा जान कर्मचारी सहमत, मन्त्रालय र युनियनबीच नौ बुँदे सहमति

समायोजनमा जान कर्मचारी सहमत, मन्त्रालय र युनियनबीच नौ बुँदे सहमति

sanghiya-mamila-newskarobar

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच नौ बुँदे सहमति भएको छ । सहमतिअनुसार निजामती कर्मचारी सरकारले हालै ल्याएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजनमा जाने सहमति भएको युनियनका उपाध्यक्ष भोला पोखरेलले जानकारी दिए ।

कर्मचारीको समस्या समाधान गर्न बनेको कार्यदल र युनियनबीच सहमति भएको उनले बताए । सरकारको तर्फबाट कार्यदलमा मन्त्रालयका सहसचिव भुपाल वराल, अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. हरि पौडेल थिए ।

उनका अनुसार तीन तहमा समायोजन हुने सरकारी सेवामा स्थायी श्रेणीविहीन कर्र्मचारीको स्तरवृद्धि र बढुवा सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्ने, समायोजनपश्चात् प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई निजको स्थायी ठेगाना भएको प्रदेश र स्थानीय तहमा निश्चित अवधि तोकी त्यही स्थानीय तहको सहमति र मिल्दो सेवा समूहमा सरुवा हुने गरी प्रदेश र स्थानीय तहको सेवा सर्तसम्बन्धी कानूनमा व्यवस्था गर्ने, समायोजनका लागि युनियनले ‘सहयोगी कक्ष’ सञ्चालन गर्ने सहमति भएको छ ।

यस्तै सहमतिअनुसार कर्मचारी समायोजन प्रक्रियालाई सहज बनाउने र वृत्तिविकासलगायत कर्मचारी व्यवस्थापन विषयलाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउनेछ । जसका लागि समायोजन भई प्रदेश निजामती सेवा तथा स्थानीय सेवामा जाने सबै सेवा समूहका कर्मचारीलाई त्यही सेवामा बढुवाको अवसर नपाएसम्म संघमा बढुवासम्बन्धी अवसर प्रदान गर्ने, समायोजन भई जाने कर्मचारीको सेवा, सर्त र सुविधाको सुरक्षा निजामती सेवा ऐन २०४९ अनुसार सुनिश्चित गर्ने, समायोजनपश्चात् समेत कर्मचारीको तलब, भत्ता, उपदान, निवृत्तिभरण, पारिवारिक वृत्ति, उपचार खर्चलगायत खाइपाइ आएको सुविधा नघट्ने गरी सुनिश्चित गर्ने रहेको छ ।

यस्तै प्रदेश वा स्थानीय तहको पदमा समायोजन भएर जाने कर्मचारीको साविकको स्तर र ज्येष्ठतालाई असर नपर्ने गरी कानुनी व्यवस्था गर्ने, कर्मचारी व्यवस्थापनसम्बन्धी नीति र तर्जुमा गर्दा आधिकारिक ट्रेड युनियनको प्रतिनिधित्व गराउने, निजामती कर्मचारीको शिक्षा, स्वास्थ्य र कर्मचारी कल्याण कोषलगायतका विषयमा संघीय निजामती सेवा ऐनमा समावेश गर्ने, राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक कर्मचारीलाई प्रदेश तथा स्थानीय तहको छैटौं तहमा समायोजन गर्न सम्बन्धित सेवाको गठन समूह तथा श्रेणी विभाजन र नियुक्तिसम्बन्धी नियमावलीमा भएको सेवा प्रवेश गर्दाको बखत न्यूनतम शैक्षिक योग्यतालाई आधार मान्ने सहमति भएका छन् ।

प्रकाशित समय १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु