गृहपृष्ठ सदुपयाेग गरे के हुँदैन ? फ्याँकिएका कागजबाट पेन्सिल बनाउँदै निर्मल दाहाल
सदुपयाेग गरे के हुँदैन ? फ्याँकिएका कागजबाट पेन्सिल बनाउँदै निर्मल दाहाल

झापा, दमक नगरपालिका–४ का निर्मल दाहालले कागजबाट कलम उत्पादन गर्न थालेका छन् । उनले घरमै सगरमाथा कलम उद्योग खोलेर विगत छ महीनादेखि व्यावसायिक उत्पादन शुरु गरेका हुन्। पुराना पत्रपत्रिका सङ्कलन गरी त्यसबाट उत्पादित सो कलम उद्योगले विस्तारै बजार ओगट्न थालेको छ ।
तीन वर्षसम्म खाडीमुलुकमा काम गरेर फर्केपछि दाहालले विदेशको अनुभवलाई स्वदेशमा नै आयआर्जनका रुपमा सो उद्योग सञ्चालनमा ल्याएका हुन् । कुवेतको एउटा बैंकको स्टेश्नरी विगभामा काम गर्ने क्रममा त्यहाँ प्रयोग हुने अधिकांश कलम कागजबाट बनेको देखेपछि आफ्नै ठाउँमा पनि उनले त्यस्तो प्रविधि भित्र्याएकाे बताए ।
‘यो प्रविधिबाट उत्पादित कलम वातावरणमैत्री पनि छ’ ३४ वर्षीय दाहालले भने, ‘यसरी कलम उत्पादन हुँदै आएको सम्भवतः यो देशकै पहिलो उद्योग हो ।’ कागजबाट कलम बन्ने तरिका इन्टरनेटमार्फत सिकेको र प्रविधिको खोजी इन्टरनेटमार्फत नै गरेको दाहाल बताउँछन् । अहिले प्रयोगमा आइरहेको काठको कलमले वातावरणमा असर गरिरहेको थाहा पाएपछि आफूमा कागजको कलम बनाउने इच्छा बढेको उनले बताए । मेशिन खरीद गरेर यस्तो प्रविधिको उद्योग स्थापना गरिएको हो ।
अहिले नेपालमा वार्षिक करोडौँ रुपैयाँको कलम भारत तथा अन्य मुलुकबाट आयात हुन्छ । विदेशबाट ठूलो परिमाणमा आयात हुने कलमलाई प्रतिस्थापन गर्ने लक्ष्य राखेर यस्तो उद्योग स्थापना गरिएको उद्योग सञ्चालक दाहालको दाबी छ ।
शुरुआती क्रममा उद्योगमा ३५ लाख रूपैयाँको निजी लगानी गरेका उनले दैनिक एक लाख ५० हजार कलम उत्पादन गर्न सक्ने क्षमता भए पनि हाल दैनिक तीन हजार कलम उत्पादन गरिरहेका छन् । मागबमोजिम मात्र कलम उत्पादन भइरहेको छ । उपभोक्ताले नेपाली उत्पादनको महत्व नबुझी दिँदा बजार पाउन समस्या आएको उनकाे गुनासो छ । ‘उपभोक्ताले स्थानीय उत्पादनलाई बजारीकरणमा सघाउ गर्न खाँचो छ,’ उनी भन्छन् । उद्योगमा चार जनाले रोजगारी पाएका छन् । उनले भने, ‘उत्पादन क्षमताअनुसार बजारमा कलमको मागको अभाव छ ।’
युवा व्यवसायी दाहालको यो वातावरणमैत्री कलम उत्पादनलाई टेवा दिनुपर्ने खाँचो रहेको दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीको भनाइ छ । उपप्रमुख अधिकारीले भनिन्, ‘आफ्नै ठाउँमा युवालाई स्वरोजगार बनाउन विभिन्न योजना बनाइरहेको छौँ, यस्तो स्वरोजगार नीतिमा नगरपालिका गम्भीर छ ।’ (रासस)
प्रकाशित समय १५:२९ बजे