गृहपृष्ठ छिन्चु-जाजरकोट सडक मर्मत नहुँदा आवागमन कष्टकर

छिन्चु-जाजरकोट सडक मर्मत नहुँदा आवागमन कष्टकर

chinchhu_jajarkot

छिन्चु-जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ । दुई वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका-११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर दुई वटा ठूला खाल्डा परे पनि मर्मत गर्नेतर्फ कसैले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको हो ।

सदरमुकाम प्रवेशको मुख्य सडकको बाटोमा कालोपत्र उप्किएर भैँसी बस्न मिल्ने पानीको ताल बने पनि मर्मत नहुँदा समस्या भएको सवारीसाधन चालक बताउँछन् ।

सो सडकमा सानाठूला गाडी र मोटरसाइकललाई पानीको ताल बनेका खाल्डा पार गर्न सास्ती हुन थालेको दुई वर्ष पुग्न लाग्यो । तर पनि चौरजहारीको सडक डिभिजन कार्यालय, जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले भने नदेखे झैँ गरेको नागरिकको गुनासो छ । मटेलादेखि बोहराको उकालो हुँदै शान्ति चौतारा र ठाँटीबजारसम्मको कालोपत्रे सडकमा खाल्डाले यात्रा समस्यापूर्ण बनाएको छ । खाल्डाखुल्डीले सडक बिग्रँदै गएको छ ।

भेरी नगरपालिका-१ का रामबहादुर रानाले भने, ‘खाल्डा पुर्ने या सडक मर्मत गर्नेबारे कोही कसैले पनि अहिलेसम्म मतलब गर्दैनन्, पासागाडको छेउमा मात्र होइन उक्त सडकखण्डको जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर बजारदेखि सदरमुकाम खलङ्गासम्मको कालोपत्र गरिएको सडकमा साना ठूला गरी सयौं खाल्डा भए पनि कसैले नदेख्दा दुःख लाग्छ।

सडकमा खाल्डाखुल्डी र भत्केको सडक लामो समयदेखि ज्यूँका त्यूँ छ । यातायात व्यवसायी कालीबहादुर खत्री प्रश्न गर्छन्, ‘सधैँ नेताहरु र ठूला कर्मचारी यही सडकमा हिँड्छन् तर कहिले पनि बिग्रेको सडक किन देख्दैनन होला ?’

छिन्चु-जाजरकोट सडकखण्डको ३९ किलोमिटर लम्बाइ पर्ने जाजरकोट क्षेत्रमा मात्र होइन सुर्खेत र सल्यानको १०२ किमी सडक क्षेत्रमा पनि सडकका खाल्डाखुल्डीले यातायातका साधन निर्वाध चल्न अप्ठयारो हुँदै आएको छ । सडकको अवस्था बिग्रँदै गएको र सरोकारवालाले सडक मर्मत र सुधार गर्नेतर्फ कुनै चासो नदिएका कारण आफूहरुले निकै जोखिम र कष्ट बेहोर्नु परेको यातायात व्यवसायी बताउँछन् ।

सडकका खाल्डाखुल्डी र सडकमा थुप्रिएका वर्षात्को पहिरोले सवारी आवातजावतमा कठिनाई भोग्नुपनरेको व्यवसायीको गुनासो छ ।

जनता र यातायात व्यवसायीलाई भएको दुःख छ देखुन् पनि कसरी ? अर्का व्यवसायी जनक थापाले भन्नुभयो, ‘जनताले कति दुःख पाएका छन्, त्यो नेताले र राष्ट्रसेवकले गतिलो अनुभूति नगर्दा वर्षौंसम्म सडकको बेहाल बनेको छ ।’

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले सडक भत्केको र खाल्डाखुल्डी परेकाबारेमा सडक विभागसँग आफूले तत्काल कुरा गर्ने बताए । नगरप्रमुख घर्तीले भने, ‘नगरपालिकाकोतर्फबाट अग्रसरता लिएर आफ्नो क्षेत्रको कालोपत्र र कच्ची सडकको मर्मत तथा स्तरोन्नतिका लागि पहल गर्ने अभियानमा छौं ।’

स्थानीय जनताले भने जिल्लाको सडक निर्माणका क्रममा सडक विभाग र निर्माण व्यवसायीले गुणस्तरहीन काम गरे पनि जनप्रतिनिधिले खासै चासो र पहल नलिएको गुनासो गर्ने गरेका छन् । सडक डिभिजन कार्यालय चौरजहारीका निमित्त प्रमुख कुशल भुसालले सडक बिग्रेकाबारे आफूलाई जानकारी नभएको बताए । ‘सडकका खाल्डाखुल्डी पुर्ने लगायत जे जे गर्न सकिन्छ पहल गर्छु, अहिले भने चिसोका कारण कालोपत्रे गर्न समस्या छ,’ उनले भने । (रासस)

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु