गृहपृष्ठ काठमाडौंको जोरपाटीबाट नौ जुवाडे पक्राउ
काठमाडौंको जोरपाटीबाट नौ जुवाडे पक्राउ
महानगरीय प्रहरी वृत्त बौद्धले बुधबार राति जोरपाटीको एक खाजा घरबाट ८० हजार रुपैयाँसहित नौ जना जुवाडेलाई पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वांगेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
पक्राउ पर्नेमा काठमाडौँमा बस्दै आएका काभ्रेपलाञ्चोकका २३ वर्षीय अनिल तामाङ, उदयपुरका २२ वर्षीय मानबहादुर खत्री, रामेछापका ३६ वर्षीय सुकलाल तामाङलगायत रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान पछि कानुनबमोजिम मुद्दा चलाउने बताइएको छ ।
प्रकाशित समय ०९:२२ बजे

















