गृहपृष्ठ लिबियामा १२ नेपाली बन्धक, दुई नेपाली एजेन्ट पक्राउ
लिबियामा १२ नेपाली बन्धक, दुई नेपाली एजेन्ट पक्राउ
एजेन्टबीच लेनदेन विवादले बन्धक बनाइएको खुलासा
१२ जना नेपाली लिबियामा बन्धक भएको खुलेको छ । इटाली लैजाने भनेर उनिहरुलाई दलालकै समूहले बन्धक बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
सन्तोष पराजुली र जसध्वज गुरुङको समूहले गत भदौमा १२ जनालाई दुई समूहमा विभाजन गरी इटली पठाएको थियो । भिजिट भिसामा दुबई पुगेका उनीहरुलाई पाकिस्तानी एजेन्टले लिबिया पुर्याएको बताइएको छ ।
लिबिया लगेर उनीहरुलाई दुई समूहमा विभाजन गरी बन्धक बनाइएको छ । बन्धक नेपालीहरुले घर परिवारमा म्यासेन्जरबाट निरन्तर सम्वाद गर्न भने पाएको बताइएको छ । लामो समयसम्म इटली नलगेपछि उनिहरुले परिवारलाई खबर गर्दै मौनता तोडेको प्रहरीले जनाएको छ । परिवारले प्रहरीलाई जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले इजिस्टका लागि नेपाली राजदूतमार्फत उद्दारको पहल गरिरहेको बताइएको छ ।
राजदूत झविन्द्र अर्यालले लिबिया सरकारका साथै शान्ति सेनामा कार्यरत् नेपाली सेनामार्फत उद्दारको पहल जारी रहेको बीबीसीलाई जानकारी दिएका छन् ।
प्रहरीका अनुसार उनीहरुलाई राखिएको स्थान भने पत्ता लाग्न सकेको छैन । अपराध महाशाखाले नेपाली एजेन्ट सन्तोषलाई पक्राउ गरेको छ भने पक्राउ परेका जयध्वजलाई बैदेशिक रोजगार विभागमा पठाइएको छ । बयानका क्रममा सन्तोषले नेपालीहरुलाई पठाएको स्वीकार गरेका छन् । एजेन्टबीचमा लेनदेनको विवाद भएकाले उनीहरु त्यहा फसेको र छिट्टै इटाली पुग्ने उनले दावी गरेका छन् ।
इटाली जानेसँग नेपालमा १३ लाख लिइएको थियो भने इटली पुगेपछि थप १३ लाख लिने सहमति भएको खुलेको छ । लिबियामा रहेका धिरज थापाकी सानिआमा सुनिता पुनले बीबीसीसँग कुरा गर्दै भनिन्, ‘एक जना बराबर एक लाख मागेको छ भनेर आजै भर्खर खबर गरेको छ ।’
प्रकाशित समय ०९:०६ बजे

















