गृहपृष्ठ संघर्ष जारी छ भन्दै केसीले तोडे अनसन
संघर्ष जारी छ भन्दै केसीले तोडे अनसन
इलामबाट २४ दिनअघि सुरू गरेको १६ औं अनसन डा. गोविन्द केसीले शुक्रबार साँझ शिक्षण अस्पताल महाराजगञ्जमा तोडेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, दमननाथ ढुंगाना तथा अस्पताल सफाइ गर्ने कर्मचारीले जुस खुवाएर अनसन तोडाएका हुन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. केसीले अनसन तोडे पनि ‘संघर्ष जारी रहने’ उल्लेख गरेका छन् । शुक्रबार साँझ एकतर्फी रूपमा अनसन तोड्दै गर्दा डा. केसीले सरकारको वद्नियतका कारण अनसन अधुरै रहन गएको उल्लेख गरे ।
‘चिकित्सा शिक्षा विधेयकमै सम्बन्धनका प्रावधान लगायतमा सुधारको जति काम सरकारको बदनियतका कारण अधुरो रहन गएको छ, त्यो पूरा गर्न तथा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न म निरन्तर फरक रुपमा लडिरहने प्रतिबद्धता व्यक्त गर्दछु’, डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अझै पनि हामीसँग यस अगाडि भएको सम्झौताअनुसार ऐन सच्याउन सरकारलाई समय दिंदै सो ऐन नसच्याइएमा तथा अहिलेसम्मका उपलब्धि उल्टाउन खोजिएमा निरन्तर संघर्ष जारी राख्ने प्रण गर्दछु।’
प्रकाशित समय २०:०० बजे

















