गृहपृष्ठ दहेज लेनदेनको विवाह कार्यक्रम वहिष्कार गर्नुपर्नेमा वक्ताहरुको जोड

दहेज लेनदेनको विवाह कार्यक्रम वहिष्कार गर्नुपर्नेमा वक्ताहरुको जोड

कानुनद्वारा बन्देज गरिएको दहेज प्रथाले समाजमा महिला हिंसामा वृद्धि भएको भन्दै यसको न्युनिकरण गर्नुपर्नेमा जोड दिइएको छ । मंगलबार जनकपुरमा ओरेक नेपाल र महिला अधिकार रक्षक सञ्जालले आयोजना गरेको दहेजका कारण हिंसामा परेका महिलाको आर्थिक अधिकार सुनिश्चिताका लागि हाम्रो भूमिका र दायित्व विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

समाजमा दहेजकै कारण विवाहपूर्व र विवाहपछि समेत महिलामाथि हिंसा हुँदै आएकोमा दहेज लेनदेनलाई व्यवहारिक रुपमा अन्त्यका लागि वक्ताहरूले जोड दिएका हुन् ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले दहेज अन्त्यका लागि पहल बढाउनुपर्ने उल्लेख गरे । उनले तराई मधेशमा दहेजकै कारण विवाहमा समस्या, अनमेल विवाह, विवाहपछि समेत रकम लेनदेन, सोही कारण घरपरिवारमा किचलो तथा महिला हिंसाका घटना भइरहेकाले यसको अन्त्य गर्न सबै पक्ष जुट्नुपर्ने बताए ।

उनले दहेज अन्त्यका लागि सचेत युवावर्ग र सामाजिक अभियन्ताहरुको पहलकदमी बढनुपर्ने बताए । दहेजले समाजमा निकै झाँगिएको र जरा गाडेर बरेसको उल्लेख गर्दै उनले दहेज लेनदेन भई हुने विवाह कार्यक्रमलाई बहिष्कार गर्दै जानुपर्नेमा युवाहरुलाई अग्रसरता लिन आग्रह गरे ।

कार्यक्रममा समाजिक कार्यकता मन्जु देवी यादवले दहेजको साथै होटलमा विवाह गर्ने र भोजभतेरमा निकै फजुल खर्च गर्ने परम्पराको विकास भएकाले सोतर्फ सचेत हुनुपर्ने बताइन् । अहिलेका शिक्षित समाजका युवावर्गका अभिभावकहरुले समाजमा आफूलाई स्थापित र तडक भडक देखाउनका लागि सयौंको संख्यामा बराती ल्याउने र होटलमा विवाह गर्न छोरीका वुवालाई दबाब दिँदै त्यसको खर्च छोरी पक्षलाई तिर्न लगाउने गरेको परम्परा विकास भएकाले मधेशमा छोरीको विवाह अझै महंगो भएको उनको भनाइ थियो ।

सामाजिक अभियन्ता युवा चन्दन कर्णले छोरीको विवाह वुवाको लागि समस्या र चिन्ताको विषय बन्दै गएको बताए । विवाहमा राजीखुशीले लेनदेन हुँदैन करचापले मोलजोल हुने गरेको र विवाहमा विभिन्न सरसजावट र देखासिकीले गर्दा फजुल गर्दै हुँदै आएकाले समाजमा वित्तिय शिक्षाको आवश्यकता रहेको उनको भनाइ थियो ।

महिला अधिकारकर्मी तथा अधिवक्ता रेखा झाले छोरीलाई शिक्षा र अंश नदिउन्जेलसम्म समाजमा दहेज प्रथाले आफ्नो प्रभाव जमाइरहने भएकाले मानसिकतामा परिवर्तन ल्याउन जरुरी रहेको बताइन् । घरको आर्थिक अवस्था र दहेज दिने हैसियत नहुँदा हुदै पनि साहु महाजनसँग ऋण लिएर छोरीको विहे गर्न अभिभावकहरू बाध्य भएको बताइन् ।

ओरेक नेपालका अनुसार चालु आर्थिक वर्षमा अहिलेसम्म दहेजको कारण महिलाहरु पिडित भएको ३६ वटा घटना भएको तथ्यांक छ । ओरेक नेपाल धनुषाका प्रमुख रोजलिन सिंह बछारले विवाहित महिलाहरुमाथि हुने कुटपिट, मानसिक तनावदेखि शारिरिक यातनासम्मका घटनामा मुद्दा दर्ता भए पनि त्यसको भित्री कुरा खोतल्दा दहेजकै कारणले घरपरिवारले दुःख दिने गरेको पाइएको बताइन् ।

समाजमा दहेज लिने र दिने दुवै कानुनद्वारा दण्डित हुने प्रावधान रहेकाले दहेजकै कारणले घटना भए पनि अन्य घटनाको महलमा मुद्दा दर्ता हुने गरेको उनको भनाइ थियो ।

ओरेक नेपाल र महिला मानवअधिकार रक्षक संजालले दहेज न्युनिकरणका लागि सूचनामुलक अभियानद्वारा समुदायलाई सचेत र संवदेनशिल गराउने, महिलामाथि हुने हिंसाविरुद्ध स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म छलफल र बहस चलाई यस्ता कार्य रोक्न सरकारको ध्यानाकर्षण गराउने र दहेजका कारण हुने महिला हिंसाका घटनाहरुको अभिलेखिकरणको माध्यमबाट कानुन परिमार्जनका लागि पैरवीको आधार तयार गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित समय १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु