गृहपृष्ठ बागमती सरसफाइ महाअभियानको ३००औं हप्ता पूरा

बागमती सरसफाइ महाअभियानको ३००औं हप्ता पूरा

बागमतीको पानी पिउनयोग्य बनाउनुपर्छ : परराष्ट्रमन्त्री

bagmati-safai-abhiyan-newskarobar फाइल तस्बिर

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बागमतीको पानी पिउनयोग्य बनाउनुपर्ने बताएका छन् । बागमती सरसफाइ महाअभियानको ३००औं हप्ता पूरा भएको अवसरमा शनिबार बिहान शंखमूलमा आयोजित विशेष कार्यक्रममा मन्त्री ज्ञवालीले बागमती धेरै शुद्ध भइसकेको पनि अब पिउनयोग्य बनाउन सकेमात्र अभियानको सार्थकता रहने बताएका हुन् । ‘बागमतीको मुहानमा वर्षातको समयमा पानी संकलन गरेर पानीको बहाव बढाउनुपर्छ,’ उनले भने, ‘जुन बहावले बागमतीमा भएको फोहरमैलालाई बगाएर लैजान सकोस् ।’

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बागमती सरसफाइ अभियानले मुलुकभर नै सरसफाइ गर्नुपर्छ भनेर प्रेरणा दिएको बताए । बागमती सरसफाइ गर्न सरकारले स्पष्ट रणनीति ल्याउने तयारी गरिरहेको उनले जानकारी गराए ।

सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले चार सय हप्ता नपुग्दै बागमतीको सरसफाइ गरिसक्नुपर्ने विचार राखे । सरकारको सहभागिताले मात्र नभइ समुदायको सहभागिताले सरसफाइ अभियानले पूर्णता पाउने उनको भनाइ छ ।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले अभियानले बागमती सरसफाइमात्र नगरेर सिङ्गो देशलाई नै सरसफाइ अभियानमा लाग्न सिकाएको बताइन् । ‘यो अभियानले राष्ट्र र जनतालाई सरसफाइ गर्न सिकाएको छ,’ उनले भनिन् ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल, अधिकार सम्पन्न बागमती सम्पदा एकीकृत विकास समितिका प्रमुख आशिष घिमिरे, बागमती सरसफाइ अभियन्ता डा. राजु अधिकारीलगायत ठूलो संख्यामा अभियन्ता र सर्वसाधारणको उपस्थिति थियो ।

‘स्वच्छता मेरो पहिचान : सफाइ मेरो योगदान’ भन्ने महाअभियानमा परराष्ट्रमन्त्री ज्ञवालीले बागमती करिडोरमा बनेका ४४० वटा सोलार बत्तीको उद्घाटन गरे । २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको सुरूवात गरेका थिए । अभियानलाई अघि बढाउनमा पूर्वसचिव लीलामणि पौड्यालको पनि ठूलो भूमिका छ ।

बागमती सरसफाइ अभियानमा अहिलेसम्म करिब १८ हजार टन फोहोर संकलन भइसकेको छ भने एक हजार ८५० संघसंस्था र १० लाखभन्दा बढी स्वयंसेवी परिचालन भइसकेका छन् । कार्यक्रममा सरसफाइ अभियानमा सहयोग पुर्याएको भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु