गृहपृष्ठ पोखराको लेकसाईडमा १४ बर्षीय बालकको हत्या
पोखराको लेकसाईडमा १४ बर्षीय बालकको हत्या
सांकेतिक तस्बिर
पोखराको लेकसाइडमा १४ बर्षीय एक बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भइ लेकसाइडमा बस्दै आएका सचिन सिन्जालीको हल्लनचोकमा निमार्णधिन अबस्थामा रहेको एक भवन मुनि मंगलबार उनको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
बालकलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हुन सक्ने वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डिएसपी) नविन कार्कीले बताए । एक ट्याक्सि चालकले उक्त घटनाको बारेमा मंगलबार विहान २:३० बजे प्रहरीलाईं खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
ट्याक्सि चालकलाई एक अपरिचित व्यक्तिले खबर गरेको बताइन्छ । हल्लनचोकको चिल्लिबार रेस्टुरेन्ट अगाडि निर्माणाधीन भवनको भुइँ तलामा सडक बालबालिकाहरु सुत्ने गरेको पाइएको स्थानमा प्लाष्टिकको म्याटमा बालकलाई प्रहरीले मृत अबस्थामा भेटेको हो । डिएसपी कार्कीले दुइ जना संकास्पद व्यक्तिलाई नियन्त्रमा लिएको बताए ।
बालकका बाबु गोविन्द सिन्जालीले लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस सञ्चालन गर्दै आएका छन् । बाबु गोबिन्दले बालक प्राय उनकी आमासँग हल्लनचोकमा बस्ने गरेको र दिनको एक पटक आफ्नो पसलमा आउने गरेको बताए । उनले भने, ‘हिजो बिहान मेरो पसलमा आएको थियो बिहान १० बजेसम्म म सँगै थियो, एक्कासी यस्तो घटना घटेछ, घटनामा दोषी उपर कारबाही गर्न माग गर्छु ।’
छोरा आफुसँग बस्ने नगरेको र पहिले हजुरआमा बस्ने गरेको बताउदै बाबु गोविन्दले प्राय आमासँगै बस्छु भनेर भन्ने गरेको र कहिले साथीहरुसँग सुत्छु भन्ने गरेको बताए । उनले आफ्नो श्रीमती सँग बोलचाल नभएको १२ बर्ष भएको जनाए ।
गोविन्दका २ छोरा मध्ये सचिन कान्छा हुन् । बालककी आमा सुनिता मगर उक्त घटना सुन्न साथ भावबिह्वल भएकी छन् । आमा सुनिताले लेकसाइडको हल्लनचोकमा अनन्तरा स्पा सञ्चालन गर्दै आएकी छन् । यस अघि पोखराको पालिखेचोकमा सडक पेटीमा बस्ने एक जना व्यक्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिको हालसम्म प्रहरीले पक्ता लगाउन सकेको छैन् ।
प्रकाशित समय १४:५३ बजे

















