गृहपृष्ठ जुनुको जागृति : आत्महत्याको प्रयासदेखि तेस्रो लिंगीको अधिकारको पैरवीसम्म
जुनुको जागृति : आत्महत्याको प्रयासदेखि तेस्रो लिंगीको अधिकारको पैरवीसम्म
कैलालीमा जन्मिएकी जुनु चौधरी आफूलाई तेस्रो लिंगीका रूपमा पहिचान स्थापित गरिसकेकी छिन् । टिकापुर बहुमुखी क्याम्पसबाटस्वास्थ्य विषय लिएर स्नातक तह पूरा गरिसकेकी जुनु अहिले स्नाकोत्तर पढ्दै छिन् ।
बुवा जयबहादुर चौधरी र आमा कुनी देवी थारुको माहिला छोराको रुपमा जन्मिएका जुनु जन्मजात रुपमा पुरुष थिए तर उमेर बढ्दै जाँदा उनको व्यवहार भने महिला मान्छेले गर्ने देखिँदै आयो ।
‘छोरा भएर जन्मेको भए पनि उमेर बढ्दै जाँदा छोरी मान्छेसँग घुलमिल हुने, खेल्ने, श्रृंगारपटार गर्ने, घर सजाउने, घर भित्रको काम गर्न मन पराउनेदेखि लिएर केटी मान्छेले लगाउने स्कर्ट र सुट लगाउन मन पराउन थालेँ,’ उनले भनिन् ।
उनको व्यवहार देखेर आमा-बुवा, छरछिमेकी पनि आश्चर्यचकित हुन्थे । ‘सबैले मलाई तिमी केटा मान्छे हो तर केटी मान्छे जस्तो व्यवहार किन प्रदर्शन गर्छौ त्यस्तो गर्नुहुदैन भनेर सम्झाउँथे,’ उनले थपिन, ‘तर म बाहिर केटा भए पनि जन्मजात भित्री स्वभाव भने केटी मान्छेको नै आएकोले मैले चाहेर पनि केटी मान्छेकै व्यवहार गर्ने गर्थें ।’
प्राथमिक तह अर्थात् कक्षा ५ सम्म गाउँमै अध्ययन गरेकी जुनुले छिमेकी गाउँको विद्यालयमा घरबाटै आउजाउ गरेर २०६१ सालमा एसएलसी पास गरिन् । उच्च शिक्षा हासिल गर्न शहर लागेकी उनी साथीभाईको आलोचनाले गर्दा शिक्षकहरुसँग कक्षाकोठामा त्यति घुलमिल भई पढ्न सकिनन् ।
‘मलाई कक्षाकोठामा साथीहरुले तिमी केटीजस्तो व्यवहार देखाउँछौ, केटीतिर बस । तिमी हिजडा हौ भनेर जिस्काउने गरेका थिए,’ उनले दुःखी हुँदै सुनाइन् ।
आफूमा उच्च शिक्षा हासिल गर्ने अठोट भएकाले विभिन्न शब्दका प्रहार सहेर टिकापुर बहुमुखी कलेजबाट स्वास्थ्य विषयमा स्नातक तह पूरा गरेको उनले बताइन् । स्नाकोत्तर पढदै गर्दा विभिन्न काम र यस्तै कारणले नियमित कक्षा गर्न नसकेर अहिले बीचैमा तह पूरा गर्न नसकेर रोकिएको छ पढाई ।
स्कुल र क्याम्पस पढ्दा आफूलाई निकै अप्ठयारो सामना गर्नु परेको बताउँदै उनले भनिन्, ‘मैले पिसाव आउँछ भनेर कम पानी खाने गर्थे किनकी साथीहरुले यो केटा हो कि केटी यसको पाइन्ट खोलेर हेर्नुपर्छ भनेर भन्थे मलाई डर डाग्थ्यो, त्यही भएर पिसाव लाग्दा निकै टाढा गएर एक्लै पिसाव फर्न जान्थे ।’
आफ्नो हाउभाउ र भित्री कुरा बाहिरिन्छन भन्ने डरले कक्षाकोठामा सरहरुले पढाउँदा आफूले बुझे पनि नबुझे पनि प्रश्न गर्ने आँट नगरेरै उनले स्नातक सकिन् । अत्याधिक अपमान खेपेकी जुनुले निराश भइ आत्महत्या गर्नेसम्म अवस्था आएको सुनाइन् ।
यद्यप समाजमा आफूले केही गरेर देखाउने चाहना र हिम्मत बोक्दै प्रकृतिले दिएको व्यवहारमा मेरो के गल्ती भन्दै हिम्मत गरेर अगाडि बढेको उनले सुनाइन् ।
चौधरी अहिले सुनौलो विहानी समाज नामक तेस्रो लिङ्गीहरूको गैरसरकारी संस्थाको जनकपुरधाममा प्रदेश-२ को कार्यक्रम संयोजक भएर काम गर्दै आएकी छिन् ।
अहिले उनी आफूजस्तै तेस्रो तथा समलिङ्गीहरुलाई यौन स्वास्थ्य प्रवर्द्धनको लागि एचआइभी र एड्स रोकथामको बारेमा जनचेतनामूलक सञ्चालन गर्छिन् । उनले यसमा काम गर्दा मासिक २० हजार पारिश्रमिक पाउने गरेकी छिन् ।
तलवबापत पाएको रकम उनले कहिलेकाही कैलालीमा बुवाआमाको लागि उपचारमा खर्चिन्छिन् भने काठमाडौंमा बसेर पढ्दै गरेका भाइ र भतिजोको लागि समेत आवश्यकताअनुसार खर्च पठाउने गरेको उनले सुनाइन् ।
महिला भन्न रुचाउँछु
जुनु चौधरी अहिले केटीको वस्त्रमा आफूलाई महिला भन्दा राम्रो लाग्ने बताउँछिन् । उनले एक वर्ष पहिले भारतको दिल्लीस्थित धिरतमपुरा अस्पतालबाट आफ्नो लिङ्ग परिवर्तन गराएका छिन् । करिब १० लाख खर्चेर उनले परिवर्तन गरेको लिङ्गले अहिले आफूले पालेको कपाल, शरीरको बाहिरी आवरण र मेकअपले गर्दा पूर्णरुपमा केटी मान्छे नै देखिन्छिन् ।
लिङ्ग परिवर्तन गर्न आफूले निलहिरा समाजबाट कमाएको रकम र चितवनमा केही समयअघि ‘सेक्स वर्कर’को रुपमा काम गर्दा कमाएको पैसा खर्चेको उनले जानकारी दिइन् ।
‘समाजमा अहिले पनि हामीप्रति हेर्न सोच बदलिएको छैन, हामीलाई छक्का, हिजडा, नाच गर्ने नटुवा भन्ने गरिएको छ,’ उनले भनिन्, ‘हामीलाई दुःख लाग्छ बरु केटी मान्छे भनेर भन्न सकिँदैन भने हामीलाई तेस्रोलिङ्गी भन्दा फरक पर्दैन ।’
उनले२०६३ साल फाल्गुन २५ गते कैलाली जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिँदा त्यसमो पुरुष भनेर जनाइए पनि आफू तेस्रोलिङ्गी भएको जानकारी दिइन् ।
‘हामीलाई तेस्रोलिङ्गी भनेर पहिचानसहितको नागरिकता दिनुपर्छ हैन भने अन्यमा राखेर दिँदा पनि हुने पैरवी समेत गर्ने गरेको भए पनि हामीलाई राज्यपक्षले विभेद गर्दै आएको छ,’ उनले भनिन् ।
घरजम गर्ने इच्छा
जुनु सेक्स भन्ने कुरा प्राकृतिक भएको भन्दै केटासँग विहे गरेर खुशी साथ जीवन विताउने चाहना भएको बताउँछिन् । ‘विगत एक वर्षदेखि धनुषाकै एक अविवाहित मलाई निकै मन पराउने केटासँग रिलेसनसिपमा समेत छु,’ उनले रहस्य खोलिन, ‘हामीले एक अर्कालाई मन पराएका छौं, सम्भवतः हामी निकट भविष्यमै विहेवारी गर्ने छौं ।’
प्रकाशित समय १४:३५ बजे
















