गृहपृष्ठ भारत–पाक तनावपछि नेपालमा सुरक्षा सतर्कता बढाइयाे

भारत–पाक तनावपछि नेपालमा सुरक्षा सतर्कता बढाइयाे

विमानस्थलमा टाक्सफोर्सदेखि सीमा क्षेत्रमा कडाई

दुई छिमेकी मुलुक भारत–पाकिस्तानको बीचमा तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । पाकिस्तानी भूमी कास्मिरी क्षेत्रमा भारतले मंगलबार बिहान हवाइ आक्रमण गरेसँगै नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको हो । दुई देशविच कश्मिरमा युद्धको तनाव बढेसँगै नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

भारतले पाकिस्तान नियन्त्रित कश्मिरमा हवाइ आक्रमण गरेर ३ सय आतंकवादी मारेको दाबी गरेको छ । पाकिस्ताले भारतको दाबीलाई अस्वीकार गरेपनि भारतीय वायुसेनाले आफ्नो सीमाभित्र छिरेर विष्फोटक खसाएको भने स्वीकार गरेको छ । साथै पाकिस्तानले भारतीय शैन्य विमान लखेटेको दाबी गरेको छ । त्यससँगै दुई देशबीचको असर नेपालमा पर्ने सक्ने भन्दै सुरक्षा कडा बनाइएको हो ।

अहिलेको तनावमा संलग्न आतंकवादी संगठनले यसअघि नेपालबाटै विमान अपहरण गरेको इतिहास भएकोले पनि नेपाल सतर्क रहनुपरेको बताइएको छ । दुई दिनअघि मात्र बंगलादेशबाट विमान अपहरणको प्रयास भएको थियो । साथै दुई देशबीचको तनावमा छिमेकी देश नेपालको भूमिको प्रयोग गरिने खतरा ठूलो रहेकोले सुरक्षा व्यवस्था कडा पारिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

नेपालले विषेशगरी भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रिय उडान हुने एक मात्रै त्रिभुवन विमानस्थलमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । गृह मन्त्रालय स्रोतले न्युज कारोबारसंग भन्यो, ‘भारतले पाकिस्तानी भूमि बालकोट क्षेत्रमा बम खसालेसँगै बढ्न सक्ने सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको छ, कुनैपनि देशविरुद्ध गतिविधी गर्न नेपाली भूमी प्रयोग गर्न चाहने शक्तिको प्रवेश नहोस भन्नका लागी विमानस्थलको चेकजाँच समेत कडाई गरिएको छ ।’

विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ टाक्सफोर्स)बाट प्रहरी खटाइएको छ । सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट आवश्कय संख्यामा जनशक्ति विमानस्थलको सुरक्षामा खटाइएको हो । विमानस्थल प्रहरी दैनिक काममा बढी व्यस्त हुने भएकाले सुरक्षामा केन्द्रित हुन कार्यदलको खटाइएको प्रहरी स्रोतले जनाएको छ । गृह मन्त्रालयबाटै निर्णय गरेर विमानस्थलमा कमान्डो तालिम गरेका प्रहरीलाई खटाइएको हो ।

नेपालमा विशेष गरी भारतसँगको खुल्ला सीमानाको फाईदा उठाउदै अवैध हतियार, जाली नोट र लागूऔषधको कारोबार हुने गरेको छ । नेपालको बाटो हुँदै यी सामग्रीको तस्करी भारतसम्म हुने गरेको कुरा यसअघिका घटनाले पुष्टि गरिसकेका छन् । ति घटना रोक्न विानस्थलदेखी सीमासम्म सुरक्षा कडा बनाईएको हो ।

यसअघि कश्मीरको पुलवामामा आक्रमणमा संलग्न भनिएको जैश ए मोहम्मदका संस्थापक मसुद अजहरलाई छुटाउन सन् सन् १९९९ डिसेम्बर २४ मा नेपालको त्रिभुवन विमानस्थलबाट एयर इन्डियाको जहाज अपहरण गरी अफगानिस्तान लगिएको थियो ।  उडान नम्बर ८१४ इन्डियन एयरलायन्स एयरबस ए ३०० विमानलाई आतंकवादीले नेपाली आकाशबाट अपहरण गरी अफगानिस्तान लगेका थिए । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उतार्नु पर्ने विमान अफगानिस्तानको कान्दाहार लगिएको थियो । एक सय ७६ यात्रुमध्ये एकको हत्या भएक थियो । धेरैलाई घाइते बनाइएको थियो ।

प्रकाशित समय १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु