गृहपृष्ठ युवालाई सकारात्मक काममा लगाउन सांसद सिलवालको आग्रह

युवालाई सकारात्मक काममा लगाउन सांसद सिलवालको आग्रह

swapna-walk-newskarobar

प्रदेश स्तरीय स्वप्न वाक प्रतिस्पर्धा सम्पन्न भएको छ । राजधानीको नेपाल पर्यटन बोर्डको सभाहलमा शनिबार कार्यक्रम भएको हो । कार्यक्रममा गण्डकी प्रदेश र प्रदेश ३ का ८ युवायुवतीको सहभागिता थियो । प्रतिस्पर्धामा गण्डकी प्रदेशबाट अंकला बराल, पूजा पन्त, दीपक रेग्मीले सहभागिता जनाएका थिए भने प्रदेश ३ बाट सिर्जना पाठक, जयलाल भण्डारी, प्रतिभा दुलाल, वीरबाहदुर तामाङ र राजेश शर्मा सहभागी थिए ।

प्रतियोगीले जनताका जागरण र समृद्धि शीर्षकमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रम ड्रिम पोइन्ट र सम्भव छ नेपालले आयोजना गरेको हो । कार्यक्रममा निर्णायक मण्डलमा गोपालबहादुर श्रेष्ठ र दीपा लिम्बू थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवालले समृद्धि युवाशक्तिले निर्धारण गर्ने हुँदा युवा पुस्तालाई सकारात्मक काममा लगाउनुपर्ने बताए । ‘कुनै पनि देशको समृद्धि त्यो देशको युवा शक्तिले निर्धारण गर्छ,’ काठमाडौं क्षेत्र नम्बर ५ ‘१’ बाट प्रत्यक्ष निर्वाचित सांसद सिलवालले भने, ‘युवा पुस्तालाई कता लैजाछौं हामीले त्यो गम्भीर समीक्षा गर्नुपर्छ । ’

परिवर्तनका संवाहक र समाज समृद्धिको मेरुदण्ड भनेको युवाशक्ति नै भएको उनको भनाइ छ । ‘युवा उमेरमात्र होइन, युवा प्रवृत्ति हो, दृष्टिेकोण, जोश, जाँगर र हिम्मत हो । यो कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो,’ सांसद सिलवालले भने, ‘त्यसैले युवालाई सकारात्मक सपना देखाऔं, सकारात्मक काममा लगाऔं । ’

युवा शक्तिकै बलमा मात्र देश, दुनियाँ र समाज अगाडि बढ्न सक्ने भन्दै उनले युद्धताका वा प्रविधिको युगमा युवाको जोश र कामले सफल भएको बताए । ‘युवा वर्ग नै हो युद्धमा होमिएर आफ्नो देशको अस्तित्व बचाउने, युवा वर्ग नै हो नयाँ प्रविधिको खोज अनुसन्धान गरेर विश्वमाझ आफू र आफ्नो राष्ट्रलाई चिनाउने, नेपालमै उदाहरण छ युवाले नै विभिन्न आन्दोलनमा होमिएर रनजनीतिक परिवर्तन गरेका छन्,’ उनले भने ।

कार्यक्रममा कृष्ण पाउरोटीका सञ्जालक घनश्याम तण्डुकारले जागरण र समृद्धि एक–अर्काको परिपूरक भएको हुँदा युवालाई चेतनशील बनाउनुपर्ने धारणा राखे । आयोजक संस्था ड्रिम पोइन्ट र सम्भव छ नेपालका प्रमुख शंकर प्रधानले उत्साह बोकेका युवालाई निराश बनाउन नहुने तर्क गरे । हरेक क्षेत्रमा आशा र उत्साह बोकेर युवालाई थप हौसला प्रदान गर्नुपर्ने खाँचो उनले औंल्याए ।

कार्यक्रममा प्रदेश ४ बाट दीपक रेग्मी तथा प्रदेश ३ बाट राजेश शर्मा र जयलाल भण्डारी उत्कृष्ट भएका थिए ।

प्रकाशित समय २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु