गृहपृष्ठ पशुपति क्षेत्रमा ६ हजार साधुसन्त, महाशिवरात्रीको तयारी अन्तिम चरणमा

पशुपति क्षेत्रमा ६ हजार साधुसन्त, महाशिवरात्रीको तयारी अन्तिम चरणमा

पाशुपत क्षेत्रमा रङ लगाइँदै । तस्बिर : रासस

पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रीमा विगतको भन्दा साधुसन्तको आगमन बढेको छ । महाशिवरात्रीको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको सदस्य–सचिव डा प्रदीप ढकालले बताए । शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको उनले बताए ।

फागुन २० गते महाशिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने लाखौँ भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका पाँच हजार स्वयंसेवक खटाइनेछ ।

भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्टि नै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन् । पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एकहप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् ।

महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको छ । दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । मूल मन्दिरभित्र कोषकै नेतृत्वमा रात्रिकालीन व्यवस्थासहितको जनशक्ति परिचालन गरिने छ ।

हंसमण्डप, वनकालीको खुला स्थान, तिलगंगाको क्षेत्रलाई क्षेत्रलाई आवास क्षेत्र तोकी १०० संस्थालाई निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको छ ।
साधुसन्तलाई निःशुल्क आवास, भोजन, चिया, पानी र चिसोबाट बच्न धुनी बाल्ने व्यवस्था गरिएको छ । फागुन २२ गते बुधबार सबै साधुसन्तलाई दान–दक्षिणासहित बिदाइको तयारी कोषले गरेको छ ।

दर्शन मार्ग
मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एकरएक गरी दुई, जयवागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक÷एक गरी दुई लाइनको व्यवस्था गरिएको सदस्य–सचिव ढकालले जानकारी दिए ।

भक्तजनको भीड बढी भएमा तिलगंगा–राममन्दिरतिरबाट समेत एक लाइनको व्यवस्था गरिने छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

तिलगंगा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चावहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिनेछ ।(रासस)

प्रकाशित समय ०७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु