गृहपृष्ठ जनताले ‘समाजवाद’को भाषण कहिलेसम्म सुनिदिनुपर्ने हो ?
जनताले ‘समाजवाद’को भाषण कहिलेसम्म सुनिदिनुपर्ने हो ?
रूसका प्रसिद्ध लेखक लियो टल्सटोयले लेखेको एउटा कथा पढेको थिएँ । पूर्व शोभियत शासनमै टल्सटोयले चर्चित समाजवादी कथा ‘खोल्स्टोमोर’ लेखेका रहेछन् जुन कथाको न्यारेटर चाहिँ एउटा घोडा हुन्छ ।
न्यारेटर घोडालाई एकदिन पुरानो मालिकले बेचिदिन्छ । घोडा किन्ने नयाँ मालिकले घोडालाई सुम्सुम्याउँदै भन्छ, ‘यो घोडा आजबाट मेरो भयो ।’
यो सुनेर घोडा छक्क पर्छ । उसले मनमनै प्रश्न गर्छ, ‘अरे म त म नै हुँ नि, आज एउटाको, भोलि अर्काको कसरी हुन सक्छु ?’
घोडाको नयाँ मालिकले कुनै एक महिलालाई ‘आफ्नी’ (पत्नी) भनेको घोडाले सुन्छ । तर, ती महिला अर्कैसँग भएको घोडाले देखेको हुन्छ । ‘अर्कैसँग समय बिताउने महिला कसरी त्यो मालिककी ‘आफ्नी’ भई ?’ घोडाको मनमा अर्को प्रश्न जन्मिन्छ ।
यस्तै, विभिन्न ठाउँमा थुप्रै घर भएको एउटा अर्को मालिक हुन्छ, ती घरलाई उसले ‘आफ्नो’ भन्छ । यी सब हेरेर घोडा छक्क पर्छ । ‘आफूू बस्दै नबस्ने घर कसरी उसको ‘आफ्नो’ भयो ?’ घोडाको मनमा प्रश्नैप्रश्न उब्जन्छन् ।
यसरी प्रश्नैप्रश्नले कन्फ्युज घोडाले एकदिन कुरा बुज्छ कि मान्छेहरूले प्रयोग गर्ने शब्द र अर्थको बीच खासै सम्बन्ध हुँदोरहेनछ । मान्छेहरूले रमाइलोका लागि जे पनि बोलिदिने रहेछन् ।
मान्छेको चिन्तन र जीवनशैलीको यो सबै विसंगति देखेपछि घोडा एउटा निष्कर्षमा पुग्छ, ‘जब बोलाइ र गराइबीच केही सम्बन्ध नै छैन भने यस्ता मान्छेका कुरालाई किन महत्त्व दिनु ? मलाई जसले ‘मेरो घोडा’ भने पनि म आखिर म नै हो, म यिनीहरू कसैको हुने होइन ।’
अब यसलाई हाम्रो मुलुकको राजनीतिक र संवैधानिक कार्यदिशासँग जोडेर हेरौं । ‘समाजवाद उन्मुख संविधान’ जारी भएको १ हजार ३ सय १० दिन भयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने गर्विलो नारासहित केपी ओलीको नेतृत्वमा सरकार बनेको ४ सय २८ दिन भयो । निराशै हुनुपर्ने त होइन । तर, अब आसा गर्नसक्ने धेरै कुरा पनि देखिँदैन ।
त्यसैले नेपालको नयाँ संविधानको प्रस्तावनामा उल्लेख गरिएको ‘समाजवाद’ लाई टल्सटोयको त्यही कथाको घोडा भन्दा अतियुक्ति हुँदैन । हाम्रा नेताले हामीलाई ‘मुर्गा’ बनाइरहेका छन् ।
के हो समाजवाद ? कस्तो समाजवाद ? समाजवादको बाटो पहिल्याउन कति वर्ष लाग्छ ? यसको ठोस सिद्धान्त, नीति तथा राजनीतिक दृष्टिकोण के हो ? कांग्रेसको समाजवाद के हो ? नेकपाको समाजवाद के हो? अरु पार्टीको समाजवाद कस्तो हो ?
इटालियन विचारक बेनितो मुसोलिनीका अनुसार समाजवाद एक धोकाधडी, एक कमेडी, एक फोगत, एक ब्ल्याकमेल हो । हाम्रा नेताहरुले मुसोलिनीको यो तर्कलाई पुष्टि गरिदिएका छन् भने टल्सटोयको कथाले नेताहरुको प्रवृत्ति ।
मुसोलिनीको तर्क के कति कारणले सही छ भन्ने बुझ्न उनका अरु वाक्य पढ्न वा सुन्न पर्दैन । टल्सटोयको कथा पढेर हाम्रा नेताहरुलाई हेरे पुग्छ । जनतालाई समाजवाद भन्दिए पुग्छ भन्नेमा उनीहरु ढुक्क छन् । किनकि, सात दशकको राजनीतिक यात्रामा उनीहरुले जनतालाई ‘समाजवाद समाजवाद’ भनेर यो त साँच्चै राम्रो हो भन्ने पारेका छन् । तर, राम्रो चाहिँ हो कि होइन भन्नेबारे नेताहरु नै अनभिज्ञ छन् । अपवादमा कतिपयलाई यो ठिक छैन भन्ने पनि परेको होला । तर, उनीहरु बोल्न सक्दैनन् । बोल्दा अलोकप्रिय र अलोकतान्त्रिक भइएला भन्ने डर उनीहरुमा छ ।
कांग्रेस हुन् कि कम्युनिस्ट, उनीहरुले मुलुक समाजवादतिर लम्क्यो भन्न थालेका संविधान बनाउँदादेखि नै हो । अहिले पनि आफ्नो भाषणमा समाजवाद भन्ने छुटाए भने उनीहरुलाई भाषण अपूरो लाग्छ, सुन्नेलाई पनि त्यस्तै लाग्छ । किनकि, भन्ने र सुन्ने दुवै यो शब्दमा बानी परिसकेका छन् । संविधान आएपछि दुइटै पार्टीले देश त हाँकेकै हुन् । खै कहाँ अनुभूति भयो समाजवाद । के सत्ताधारी नेताहरुले छातीमा हात राखेर भन्न सक्छन् कि यो सरकार समाजवादको नीतिअनुसार अघि बढेको छ ?
‘वाद’ भनेको सिद्धान्त, विचार वा मार्गदर्शन । जनताले अब कति वादलाई पत्याउने अनि नेताले कति वाद ल्याउने ? आफूलाई साम्यवादी, माक्र्सवादी भन्न रुचाउने पुँजीवादको विकृतिमा निर्लिप्त भएको नदेखेको हो र ? ‘माओवाद’ भन्नेले त्यो धार उहिल्यै छाडिसके । अहिले ‘मौलिक माओवाद’ भन्न थालेका छन् । यस्तै अरु पनि थुप्रै छन् जो ‘वाद’ फेरेको फेर्यै छन् जनता हेरेको हेर्यै छन् ।
काम एकातिर छ, कुरो अर्कोतिर छ । कुनै नीति तथा कार्यक्रमबारे राजनीतिक तहमा छलफल विरलै हुन्छ । भइहाल्यो भने पनि त्यसमा समाजवादी तत्त्वलाई कसरी समायोजन गर्न सकिन्छ, कुन मोडलमा समावेश गर्न सकिन्छ भन्नेबारे छलफल हुँदैन । कुन क्षेत्रमा कस्तो कर कसरी लागू गर्ने भनेर राजनीतिक तहमा छलफल हुँदैन भने कसरी बढ्यो देश समाजवादतिर ?
विश्लेषक एवं लेखक विष्णु सापकोटाले एउटा लेखमार्फत निकै तार्किक प्रश्न गरेका छन्, ‘नेताहरुले भनेको समाजवाद कस्तो हो ? त्यो भन्नुपर्छ कि पर्दैन ? जस्तो, अहिले देशभरका दसौं हजार निजी विद्यालय र कलेज निजी रूपमै चलाउन दिनेवाला समाजवाद भन्न खोजिएको हो कि तत्कालीन सोभियत संघमा जस्तो समाजवाद भनेको हो ? वा अर्थतन्त्रमा उदार तर राजनीतिमा नियन्त्रणमुखी चीनको बाटोमा जाने भित्री इच्छा हो जसका बारेमा बाहिर बोल्न नमिलेको हो ? कि भारतका समाजवादी राममनोहर लोहिया, जयप्रकाश नारायण वा नेपालकै बीपी कोइरालाले भनेको खालको समाजवाद हो ?’
संविधानले भनेको समाजवाद कुन खालको हो भन्ने कुरा पहिले जनतालाई स्पष्ट पानुपर्छ । त्यसका लागि सरकारको स्पष्ट नीति के हो ? नेताहरुको जिम्मेवारी के हो ? यी सब कुरा प्रष्ट पार्न नसक्ने हो भने कहिलेसम्म जनताले पत्याइदिनुपर्ने हावा कुरा ? समाजवाद उन्मुख संविधान आएको दशक नाघ्दा पनि देश जहाँ को त्यहीँ, जनता जस्ताको त्यस्तै, प्रणाली यही, सबै उही हुने हो भने किन चाहियो समाजवाद ? होइन भने यसको पुष्टि गर्ने बेला आएको छ ।
प्रकाशित समय १९:२९ बजे

















