गृहपृष्ठ महिनावारी स्वच्छतामा कोभिड १९ को प्रभाव, चुनौती र समाधान

महिनावारी स्वच्छतामा कोभिड १९ को प्रभाव, चुनौती र समाधान

युनिसेफले प्रकोपको प्रभावलाई प्राथमिक र माध्यमिक गरी दुई भागमा वर्गीकरण गरेको छ । प्राथमिक प्रभावहरू मानव स्वास्थ्यमा महामारीको प्रत्यक्ष र तत्काल परिणामहरूको रूपमा परिभाषित छन् भने माध्यमिक प्रभावहरू महामारीले अप्रत्यक्ष रूपमा हुनेगरी परिभाषित गरिएको छ । अप्रत्यक्ष प्रभावहरु या त मानिसमा डरको प्रभावको माध्यमबाट या यसलाई नियन्त्रण गर्नका लागि गरिएका उपायहरूका कारण देखापर्छन् । कोभिड १९ एक नयाँ रोग हो । भाइरस खास गरी व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासका बेला बाहिरिने थुक या खकारका छिटाबाट फैलिन्छ । कोभिड १९ रगतको माध्यमबाट सर्दैन । आजसम्म महिलाको मासिक चक्रमा कोभिड १९ को प्रभावको कुनै प्रमाण छैन तर तनाव, चिन्ता र कुपोषणले प्रजनन् स्वास्थ्यलाई असर गर्न सक्छ ।

कोभिड १९ महामारीले महिलाहरु/केटीहरूमा दुबै (माध्यमिक र प्राथमिक) प्रभाव पर्छ । सबैभन्दा बढी प्रभावित गरिब, आर्थिक अवस्था कमजोर भएका, अपांगता भएका र सामाजिक रुपमा पिछडिएका महिला छन् । केही महिलालाई पेसाले बढी जोखिम ल्याएको पाइन्छ । जस्तैः नेपालमा सम्भवतः फ्रन्टलाइन हेल्थ वर्कर्स महिला हुने सम्भावना बढी हुन्छ । विशेषगरी नर्सहरू, सुडेनीहरू र सामुदायिक स्वास्थ्य कार्यकर्ताहरू फ्रन्टलाइन हेल्थ वर्कर्स हुन् । त्यसैले महिलाहरु पेसागत रूपमा पनि बढी जोखिममा छन् भन्न सकिन्छ ।

नेपालमा करिब ४० प्रतिशत स्वास्थ्यकर्मी महिला छन् । हामीले महिलाको महिनावारी स्वच्छतामा ध्यान दिएनौँ भने महिलाको कार्यक्षमता घट्नेमा कुनै शंका रहने छैन । जसले अप्रत्यक्ष रूपमा माहामारीका बेला नेपाल स्वास्थ्य प्रणालीको कार्यदक्षतामा कमी आउँछ, फलस्वरुप हामी महामारीको थप सिकार बन्न पुग्छौँ । यो अवस्थालाई निर्मूल पार्न महिलाको महिनावारी स्वच्छतामा ध्यान दिन जरूरी छ । मैले यो लेखमा महिनावारी महिलालाई समाजमा र स्वस्थ्य संस्थामा (बिरामी महिला र महिला स्वास्थ्यकर्मी) कोभिड १९ को प्रभाव, चुनौती र समाधानका उपाय प्रस्ट पर्ने प्रयास गरेको छु । आशा छ, सरकारले यसलाई मेरो सुझावको रुपमा ग्रहण गर्नेछ ।

महामारीका बेला महिनावारी हुँदा देखापर्ने चुनौती र समाधानका उपाय

समुदायमा केटीहरू र महिलाहरू बढी चुनौती सामना गर्न बाध्य छन् । यस्ता चुनौतीबाट महिलालाई माथि उठाउन निरन्तर सही सूचनाको पहुँच महिलामा पुर्‍याउन जरूरी छ । समाजमा महामारीका बेला महिनावारी हुँदा महिलामा देखापर्ने चुनौती र यसको दिगो समाधानका केही उपाय :

चुनौती

१. पानी र सरसफाइ सेवाको प्रबन्धमा गडबड । जस्तैः सुरक्षित पानीको आपूर्ति अवरोध वा ढल निकास प्रणाली मर्मतको अभाव वा आपूर्तिको अभाव हुनसक्छ ।

२. घरमा क्वारेन्टिन वा पृथक् बसेका महिलामा पानीको आपूर्ति या सरसफाइमा समस्या हुनु ।

३. महिनावारी स्वच्छता सामग्रीहरूमा पहुँच नहुनु ।

४. प्रविधिको आभावका कारण अत्यावश्यक जानकारीका लागि सीमित पहुँच हुनु ।

५. यौन र प्रजनन स्वास्थ्यको राम्रो ज्ञान नहुनु ।

६. महिनावारीका बेला घरबाट टाढा (छाउघर)मा बस्नुपर्ने, जसले महिलामा शारीरिक, मानसिक र सामाजिक समस्या देखा पर्ने ।

समाधानका उपाय

१. जनचेतना जगाउने तथा परिवार र समाजका मानिसहरुलाई महिलालाई सहयोग गर्न प्रोत्साहन गर्ने ।

२. घर-घरमा सम्भव भएसम्म सरसफाइका लागि पानीलगायतको निरन्तरताका लागि सहयोग गर्ने तथा केटीहरू र महिलाहरूलाई खाना र गैरखाद्य वस्तुहरू पूर्ण रुपमा उपलब्ध गराउने ।

३. महिनावारी स्वच्छता सामग्रीहरू निःशुल्क रूपमा उपलब्ध गराई पहुँच बढाउने ।

४. केटीहरू र महिलाहरू सक्षम छन् कि छैनन् निर्धारण गरी डिजिटल जानकारीका स्रोतहरुको उपयोग गर्न र उपयुक्त सञ्चारमाध्यम प्रयोग गरी महिनावारीसम्बन्धी चेतनामूलक जानकारी प्रदान गर्ने ।

५. यौन र प्रजनन सेवा सुविधाको पहुँच बढाउने ।

६. महिनावारीका बेला छाउघरमा बस्नु गलत हो र यसको असरको बारेमा सचेतना जगाउने तथा छाउपडी प्रथा पूर्ण रुपमा अन्त्य गर्न अभिप्रेरित गर्ने ।

स्वास्थ्य संस्थामा कार्यरत महिलामा महामारीका बेला महिनावारी हुँदा देखापर्ने चुनौती र समाधानका उपाय

महिला बिरामीलाई जाहिल्यै पनि महिनावारी सरसफाइ सामग्री र सरसफाइका लागि पानी अवश्यक पर्ने विषयमा पहुँच आवश्यक पर्छ । महिला वा केटी मान्छे कोभिड १९ को गम्भीर बिरामी छ भने तिनीहरूको महिनावारी सरसफाइ प्रबन्ध गर्न ठूलो सहयोग चाहिन्छ । जसअनुरूप महिनावारी सरसफाइमा सहयोग गरी बिरामी महिलाको ज्यान जोखिमबाट बचाएर स्वस्थ्यकर्मीले आफ्नो कर्म निभाउन जरूरी छ । स्वास्थ्य संस्थामा खटिरहेका महिलामा महामारीक बेला महिनावारी हुँदा देखापर्ने चुनौती र यसको दिगो समाधानका केही उपाय :

चुनौती

१. अस्पतालमा भर्ना भएका वा कोभिड १९ को लागि क्वारेन्टाइन केन्द्रमा बसिरहेका केटीहरू र महिलाहरूका लागि महिनावारी ससरसफाइका सामानको पहुँच कमी हुनसक्ने ।

समाधानका उपाय

१. महिनावारी सामग्री र पेनकिलर निरन्तर प्रदान गर्ने

२. सरसफाइका लागि पानीलगायतको सुविधा उपलब्ध गराउने ।

३. महिनावारी स्वच्छता सामग्रीहरू निःशुल्क उपलब्ध गराई पहुँच बढाउने ।

४. तालिमप्राप्त महिला चिकित्सकलाई महिनावारी भएका महिलाको हेरचाह गर्ने व्यवस्था मिलाउने ।

महिला स्वास्थ्यकर्मीमा महामारीका बेला महिनावारी हुँदा देखापर्ने चुनौती र दिगो समाधानका उपाय

नेपालमा महिलाले स्वास्थ्य श्रमशक्तिको आधा प्रतिशत हिस्सा ओगट्छन् । उनीहरू सम्भवतः फ्रन्टलाइन हेल्थ वर्कर्स हुने सम्भावना बढी हुन्छ । विशेष गरी नर्स, सुडेनी र सामुदायिक स्वास्थ्य कार्यकर्ताले फ्रन्टलाइन हेल्थ वर्कर्स हुनुपर्ने हुन्छ । यी महिलाले आफ्नो मासिक महिनावारी प्रबन्धका लागि थप चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । जसले उनीहरूको स्वास्थ्य र मर्यादामा मात्र होइन, स्वास्थ्य प्रणालीको क्षमतामा पनि प्रभाव पार्छ । महिला स्वास्थ्यकर्मीमा महामारीका बेला महिनावारी हुँदा देखापर्ने चुनौती र यसको दिगो समाधानका केही उपायहरु :

चुनौती

१. स्वास्थ्य सेवामा कार्यरत महिलाको महिनावारी ससरसफाइको आवश्यकतालाई प्राथमिकता दिँइदैन ।

२. स्वास्थ्य प्रणालीद्वारा प्रदान गरिएको स्वास्थ्यकर्मीहरूका लागि मासिक स्वास्थ्य स्वच्छता सामग्रीको अभाव ।

३. पीपीई लगाउदा र हटाउँदा मासिक महिनावारी स्वच्छता सामग्रीको द्रुत परिवर्तनलाई रोक्छ, सम्भावित रूपमा महिलाहरू कामबाट टाढा बस्नुपर्छ ।

४. स्वास्थ्य संस्थामा सरसफाइ सुविधाहरूमा पहुँचको अभाव, जसले महिलालाई मासिक महिनावारी स्वच्छतासहित आधारभूत सरसफाइ प्रबन्ध गर्न सहज हुँदैन ।

समाधानका उपाय

१. सरसफाइको आवश्यकताहरूलाई प्राथमिकता दिई यसको बारेमा वकालत गर्ने ।

२. मासिक महिनावारी स्वच्छता सामग्री, स्वास्थ्य सेवाकर्मीहरूका लागि आवश्यक आपूर्तिको रूपमा लगेर पर्याप्त खरिद गर्ने ।

३. पीपीईको पर्याप्त पहुँच पुर्‍याउने, काम गर्ने वातावरण मिलाउने, फ्रन्टलाइन हेल्थ वर्कर्सलाई विशेष आर्थिक लाभ उपलब्ध गराउने र महिला कर्मचारीलाई महिनावारीका बेला उचित समय तालिकाको व्यवस्था मिलाउने ।

४. स्वास्थ्य संस्थामा सुविधाहरू महिला र अशक्त मानिस अनुकूल हुनपर्छ । स्वास्थ्य संस्थामा सरसफाइका लागि आवश्यक सामग्रीहरूको सुविधा उपलब्ध हुनुपर्छ ।

महामारीको समयमा महिनावारी स्वच्छताको निरन्तरता सुनिश्चित गर्न स्वास्थ्य सेवाकर्मी र बिरामीहरुमा महिनावारी स्वच्छता सामग्री आपूर्ति र सरसफाइका लागि सुविधाहरू उपलब्ध गराउन जरूरी छ । त्यसैगरी समुदाय, विद्यालय तथा सरकारी, गैरसरकारी संस्थामा समेत आधारभूत सरसफाइका लागि सुविधा हुन जरूरी छ । महिनावारी स्वच्छताको निरन्तरता सुनिश्चित मात्र स्वास्थ्य संस्थाले गर्न सक्यो भने महामारीका बेला महिला स्वास्थ्यकर्मीको काम गर्ने क्षमता बढ्नेमा दुई मत छैन । यसतर्फ सरकारको ध्यान जाओस् ।

(लेखक जनस्वास्थ्यकर्मी हुन् ।)

प्रकाशित समय १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु